झापाका पाँचवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना: चुनावी प्रशासनिक तयारी तीव्र
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
930
Shares
काठमाडौँ। झापाका पाँचवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। जिल्ला समन्वय समिति झापामा निर्वाचन क्षेत्र नं ३ को समेत जिम्मेवारी रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा पनि शनिबारसम्ममा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भइसकेका छन्। क्षेत्र नं १ को कार्यालय मेचीनगर नगरपालिकामा स्थापना गरिएको छ, जहाँ गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहेका छन्। क्षेत्र नं २ का लागि अर्जुनधारा नगरपालिकामा कार्यालय खोलिएको छ, जसमा महेश खत्री निर्वाचन अधिकृत र शुक्रराज वान्तवा सहायक निर्वाचन अधिकृत छन्।
त्यसैगरी, क्षेत्र नं ४ को कार्यालय कनकाई नगरपालिका–१ स्थित तुरसा हेमरम प्रतिष्ठानमा राखिएको छ। यहाँ भिमप्रसाद भुर्तेल निर्वाचन अधिकृत र क्षेत्रनाथ शर्मा सहायक निर्वाचन अधिकृत तोकिएका छन्। क्षेत्र नं ५ को कार्यालय दमक नगरपालिका–८ स्थित अर्ग्यानिक कृषि केन्द्रको भवनमा स्थापना गरिएको छ, जहाँ विदुरकुमार कार्की निर्वाचन अधिकृत र जीतबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृतका रूपमा कार्यरत रहनेछन्।
मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल र सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार झापामा यसपटक २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल मतदाताको संख्या ७ लाख १३ हजार ५३७ पुगेको उनले बताए। यसमा महिला ३ लाख ५५ हजार १८३, पुरुष ३ लाख ५८ हजार ३४६ र अन्य ८ जना रहेका छन्। २०७९ को चुनावको तुलनामा यसपटक झापामा ५० हजार २२६ मतदाता र ४९ मतदान केन्द्र थपिएको नेपालले जानकारी दिए।