arrow

रौतहटका एक सय ५२ मतदानस्थल अतिसंवेदनशील

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
election-rautahot.jpg

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।

जिल्ला सुरक्षा समितिले जिल्लाका कुल दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ ओटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।

जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।

जसमा एक सय ५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने सय ओटालाई संवेदनशील र बाँकी २५ ओटालाई सामान्य सूचीमा राखिएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख्या पाँच सय ४१ कायम गरिएको जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं. १ मा ६७, क्षेत्र नं. २ मा ७३, क्षेत्र नं. ३ मा ७७ र क्षेत्र नं. ४ मा ६१ मतदानस्थल कायम गरिएको छ ।

यस अघिको निर्वाचनमा दुई सय ७६ मतदानस्थल रहेकामा यस वर्ष गरुडा नगरपालिका-६ मा एउटा नयाँ स्थल थप गरी कुल संख्या दुई सय ७७ पुर्याइएको उनको भनाइ छ ।

रौतहटमा यस वर्ष मतदाताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। २०७९ को निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ मतदाता रहेकोमा यसपटक २१ हजार एक सय ५६ जना नयाँ मतदाता थपिएका छन्। यससँगै जिल्लामा कुल मतदाताको संख्या चार लाख ३६ हजार छ सय ११ पुगेको छ।

दुई गाउँपालिका र १६ नगरपालिका गरी १८ ओटा स्थानीय तह रहेको रौतहटमा चुनावी सरगर्मी बढेसँगै सुरक्षा निकायले गस्ती र निगरानी बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षाकर्मीको उचित परिचालन र समन्वय भइरहेको बताए। रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ