काठमाडौँ। फिलिपिन्सको शहर सेबुमा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पसाइट) भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको सेबु सिटीको ब्युरो अफ फायर प्रोटेक्सन (बीएफपी) ले शनिबार जनाएको छ ।
फोहोरको थुप्रो र फलामे संरचनाको भग्नावशेषमुनि थप शव फेला परेपछि मृतक सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् ।
घटनामा अझै एक जना कामदार बेपत्ता रहेको र उनको खोजी जारी रहेको जनाइएको छ ।
जनवरी ८ मा डम्पसाइटको एक भाग भत्किँदा त्यहाँ कार्यरत कामदारहरू संरचनाभित्र फसेका थिए ।
घटनामा १८ जनालाई जीवितै उद्धार गरिएको भए पनि सबै घाइते भएका छन् ।
बीएफपीले सामाजिक सञ्जालमार्फत खोज, उद्धार तथा शव सङ्कलन कार्य निरन्तर जारी रहेको जनाएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ । एजेन्सी