आज मध्यरातदेखि देशभर निर्वाचन आचारसंहिता लागू हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
1k
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आज मध्यरातदेखि 'निर्वाचन आचारसंहिता, २०८२' लागू गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउन आचारसंहिता कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी भयमुक्त वातावरण सुनिश्चित गर्न यो संहिता लागू गरिएको हो।
आचारसंहिता लागू भएपछि सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाहरूले आयोगले तोकेका सीमा र नियमहरूको पालना गर्नुपर्नेछ। आचारसंहिताका प्रावधानहरूबारे थप स्पष्ट पार्न आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई विस्तृत जानकारी गराउने कार्यक्रम समेत तय गरिएको छ।