निर्वाचन तयारी तीव्र: समानुपातिकतर्फ ९० लाख हाराहारी मतपत्र छापिए
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
673
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा हालसम्म कुल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको छ।
आयोगले यस निर्वाचनका लागि कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्ने लक्ष्य राखेको छ। कुल मतदाताको सङ्ख्याभन्दा केही प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छापिएको छ। आयोगको तथ्याङ्क अनुसार अब १ करोड १९ लाख १३ हजार थान मतपत्र छाप्न बाँकी छ।
छपाइका साथै मतपत्र प्याकिङ गर्ने काम पनि सँगसँगै भइरहेको छ। हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र प्याकिङ भइसकेको छ भने १४ हजार ४२० बाकस प्याकिङ हुन बाँकी रहेको आयोगले जनाएको छ। यसैबीच, मतदाता शिक्षा र अन्य तयारीका लागि १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छापेर आयोगमा पठाइसकिएको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ।