arrow

प्रजातन्त्र र २००७ साल

के भन्छन् विश्वबन्धु थापा ?

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
thapa-bishwo-aa.jpeg

काठमाडौं । एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए । तर राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गएपछि नेपालको राजनीतिले अचानक अर्कै तर जटिल मोड लिन पुगेको सम्झिन्छन्, –२००७ सालको क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापा ।

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाहसमेत दिइएको थियो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो । ‘राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो, यही बीजले क्रान्तिमा नेतृत्व गरेका दाजुभाइ मातृकाप्रसाद कोइराला र बिपी कोइरालामा झगडा भयो, अन्ततः यसले नेपालको प्रजातन्त्रलाई नराम्रो प्रभाव पार्‍यो” – प्रजातन्त्र स्थापनापछिको घटनालाई गहिरोसँग नियाल्दै आएका थापाले भने ।

वनारसमा अध्ययन गरिरहेका बेला भारतमा अङ्ग्रेज शासन हटाएर प्रजातन्त्र पुनःस्थापना भएपछिको खुला वातावरण भोगेर विराटनगर फर्किएपछि थापालाई नेपालमा प्रजातन्त्र नभएको अनुभूति भयो । यही अनुभूतिले उनललाई राजनीतितर्फ डोर्‍यायो । गोरखा पुर्ख्यौली थलो भएका थापालाई विराटनगरबाट आवतजावत गर्ने खुला वातावरण नभएकाले प्रजातन्त्र स्थापना हुनुपर्नेमा दृढ बनाएको थियो ।

वनारसमा वीपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि विद्यार्थी सङ्गठित हुनुपर्छ भनी प्रेरणा दिए । वीपीको प्रेरणामा थापा, कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी, भरतमणि शर्मालगायत विद्यार्थीहरु विद्यार्थी सङ्घमा सक्रिय भए । थापा २००३ सालमा खुलेको राष्ट्रिय काँग्रेसको संस्थापक सदस्य भई प्रजातन्त्र स्थापनामा लागे ।

राष्ट्रिय काँग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणा शासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरुकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो । प्रजातन्त्र काँग्रेससँग धन शक्ति । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि २००६ सालमा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो ।

‘प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो, एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो’ – २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना हुनुअघि सुरु भएको क्रान्तिको स्मरण गर्दै थापाले भने ।

प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको घोषणा भएपछि बिपीको निर्देशनमा थापा विराटनगर आए । पढाइ छोडेर गिरिजाप्रसाद कोइराला मजदुर आन्दोलनमा लागे । विराटनगरमा स्वयम्सेवक अखडा खोलेर क्रान्तिमा लागेका साथीलाई गुमाएको घटना उनको स्मरणमा अझै ताजै छ ।

वनारसमा अध्ययन गर्दा विद्यार्थी सङ्गठनमा सक्रिय भएदेखि नै थापालगायत युवा विद्यार्थीले सैन्य तालिम लिए । तालिम २००७ सालको क्रान्तिमा उपयोगी बन्यो । तालिमलाई उपयोग गर्दै विराटनगरका माल अड्डालगायत सरकारी कार्यालय क्रान्तिकारीले नियन्त्रणमा लिएको सुनाउँछन्, थापा ।

प्रजातन्त्र स्थापनामा सक्रिय भई विसं २०१५ को पहिलो संसदीय निर्वाचनमा सांसद निर्वाचित हुनुभएका थापा २०१७ पुस १ गतेको शाही ‘कू’ पछि पञ्चायत व्यवस्थामा लागे । २००७ साल पछिको प्रजातन्त्रकाल र २०१७ पुस १ गते राजा महेन्द्रको कदमपछिको पञ्चायत दुवै व्यवस्थामा सक्रिय राजनीति गरेका थापा प्रजातन्त्रलाई भ्रष्टाचारले र पञ्चायतलाई शक्तिले बिगारेको अनुभव पनि सुनाउँछन् ।

‘प्रजातन्त्र स्थापनाका लागि नेतृत्व गर्ने मातृकाप्रसाद कोइराला र बिपी कोइरालाको काठमाडौँमा घर थिएन, २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापना भएपछिको संसदीयकालमा मन्त्री बनेकाले समेत काठमाडौँमा बङ्गला, गाडी र धन सम्पत्ति जोडेका छन्, यसमा काँग्रेसका नेतामात्र होइन एमाले र माओवादीका नेता पनि फरक देखिएनन्’ – २०४६ सालमा प्रजातन्त्र र विसं २०६२–०६३ को परिवर्तनपछिको विश्लेषण गर्दै पुराना राजनीतिज्ञ थापाले, भने ।

 २००७ साल अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले पछि परेको उनको बुझाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ