पाँच वर्षका लागि मौका पाए विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
975
Shares
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरूलाई दिन आग्रह गरेका छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा उनले पाँच वर्षका लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए ।
उनले गरिबी हटाउन, देशको विकास गर्नका लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे ।
आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उनको भनाइ छ । उनले पाँच वर्षको आफूहरूले काम देखेपछि फेरि जनताले आफैलाई नै खोज्ने दाबी पनि गरे ।
उनले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनुपर्ने बताउँदै आफूले बालेको कुरा सधैँ पूरा गरेको पनि दाबी गरे ।
जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उनको भनाइ छ । उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरूलाई विश्वास गरेर हेर्न आग्रह गरे ।
उनले भने, ‘अब हामी देशको समृद्धितर्फ अगाडि बढ्नुपर्नेछ । देशको समृद्धिका लागि नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ। आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रुपमा तपाईँहरूले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो इतिहासको एकदमै ठूलो, एकदमै महत्वपूर्ण अवसरको रुपमा लिनुहोला । यो अवसर गुमायौँ भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन । धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु । हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनका लागि सही नेतृत्व आवश्यक छ । तपाईँहरूले अब आगामी पाँच वर्षको लागि तपाईँहरूले एउटा अवसर दिनुहोस् । त्यो अवसर हामीले देशको समृद्धिका लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि हामी प्रतिवद्ध भएर लाग्नेर्छौँ । पाँच वर्षभित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईँहरू नै आउनुस् भनेर तपाईंहरूले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’
उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरूको उदय भए देश झन अधोगतितिर जाने बताए। देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाइ छ ।