कहाँ कहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
737
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज उम्मेदवार मनोनयन दर्ता प्रक्रिया उत्साहका साथ अघि बढेको छ। जिल्ला निर्वाचन कार्यालयले सबै क्षेत्रका लागि पायक पर्ने स्थानहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी आवश्यक व्यवस्था मिलाएको छ। काठमाडौँ क्षेत्र नं १ को निर्वाचन कार्यालय नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा राखिएको छ भने क्षेत्र नं २ का लागि कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनलाई तोकिएको छ।
यसैगरी क्षेत्र नं ३ का उम्मेदवारले गोकर्णेश्वर नगरपालिका-४ को वडा कार्यालयमा र क्षेत्र नं ४ का उम्मेदवारले बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा मनोनयन दर्ता गराउनेछन्। क्षेत्र नं ५ को लागि टोखा नगरपालिकाको श्री समाज भवन र क्षेत्र नं ६ का लागि तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित भवनमा कार्यालय स्थापना गरिएको छ। काठमाडौँ क्षेत्र नं ७ को मनोनयन खुसिबुस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र (जुडोहल) मा हुनेछ भने क्षेत्र नं ८ को नागार्जुन र क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा निर्वाचन कार्यालय सञ्चालनमा रहेका छन्।
दक्षिणकाली र कीर्तिपुर समेटिएको क्षेत्र नं १० को निर्वाचन कार्यालय कीर्तिपुर नगरपालिका-२ को बाघभैरवस्थित भवनमा स्थापना गरिएको छ। आज बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताका लागि विभिन्न दलका उम्मेदवारहरू बाजागाजा र समर्थकहरूसहित पुग्ने क्रम जारी छ। नेकपा (एमाले) ले काठमाडौँका १० वटै क्षेत्रका लागि आकाङ्क्षीहरूको नाम सिफारिस गरिसकेको छ जसमा क्षेत्र नं २ मा मणिराज फुयाँल र क्षेत्र नं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस भएको छ। काठमाडौँ जस्तै ललितपुर र भक्तपुरमा पनि पायक पर्ने स्थानमा कार्यालय स्थापना भई मनोनयन कार्य भइरहेको छ। आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ पूर्ण रूपमा लागू हुने निर्वाचन आयोगले जनाएको छ।