सर्लाहीमा जनमतका चारै क्षेत्रमा उम्मेदवार तय, महतोदेखि मिश्रसम्म मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
750
Shares
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ। मधेशमा आफ्नो प्रभाव विस्तार गर्दै लगेको जनमतले अनुभवी र स्थानीयस्तरमा लोकप्रिय अनुहारहरूलाई चुनावी मैदानमा उतारेको हो।
पार्टीका सर्लाही जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार सुशासन, रोजगारी र मधेशको अधिकारलाई मुख्य चुनावी एजेन्डा बनाएर उम्मेदवार छनोट गरिएको छ। जनमतले क्षेत्र नम्बर १ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर २ बाट बिपिन कापर, क्षेत्र नम्बर ३ बाट सुनिल प्रसाद गुप्ता र क्षेत्र नम्बर ४ बाट राकेश कुमार मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी चारै जना उम्मेदवारहरू आज बाजागाजा र आफ्ना समर्थकहरूको जुलुससहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुग्ने तयारीमा छन्।
सर्लाहीमा जनमत पार्टीले आफूलाई पुराना दलहरूको भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्दै 'शिक्षा, स्वास्थ्य र रोजगारी' को मुद्दालाई प्राथमिकतामा राखेको छ। उम्मेदवारी दर्तासँगै जिल्लाभर चुनावी अभियानलाई तीव्र बनाउने र घरदैलो कार्यक्रममार्फत मतदाताका समस्या सम्बोधन गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ।