उम्मेदवार विरुद्ध उजुरी दिने आज अन्तिम मौका: भोलि जाँचबुझ र पर्सि अन्तिम नामावली प्रकाशनको तयारी
आयोगले गर्यो दुई हजार नौ सय २५ उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
797
Shares
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका अनुसार आज माघ ७ गते मनोनयन दर्ता भएका उम्मेदवारहरू विरुद्ध उजुरी दिन सकिने व्यवस्था गरेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ दर्ता भएका उम्मेदवारहरूको योग्यता वा कानुनी मापदण्डमाथि प्रश्न उठाउन चाहनेले आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सक्नेछन्। यसरी प्राप्त भएका उजुरी र मनोनयन पत्रमाथि माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णय लिइने र उम्मेदवारहरूको नामावली प्रकाशन गरिने आयोगको तयारी छ।
निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने समय सीमा निर्धारण गरिएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ७ बजेसम्ममा सबै उम्मेदवारहरूलाई औपचारिक रूपमा निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्यक्रम उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी प्रक्रियामा पनि सहयोगको अपेक्षा गरेका छन्।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार हालसम्म देशभरबाट कुल २ हजार ९ सय २५ जनाको उम्मेदवारी दर्ता भएको छ। कुल उम्मेदवारहरूमध्ये महिलाको सङ्ख्या ३ सय ३६ र पुरुषको सङ्ख्या २ हजार ५ सय ८९ रहेको छ। यसैगरी अपाङ्गता भएका व्यक्तिहरूमध्येबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। मनोनयन दर्ताको यो सङ्ख्या र सहभागिताले आसन्न निर्वाचनप्रति राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको उच्च चासो र उत्साहलाई पुष्टि गरेको छ।