बैतडीमा १२ उम्मेदवार मैदानमा, माघ ११ मा पाइनेछ चुनाव चिह्न
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
918
Shares
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा मङ्गलबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसपटक बैतडीको एउटा मात्र निर्वाचन क्षेत्रका लागि कुल १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १० जना विभिन्न राजनीतिक दलका तर्फबाट र २ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
उम्मेदवारी दर्ता गर्ने प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति चतुरबहादुर चन्द र नेकपा (एमाले) का तर्फबाट पूर्वमन्त्री एवं वर्तमान सांसद दामोदर भण्डारी रहेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी चुनावी मैदानमा उत्रिएका छन्।
अन्य दलहरूबाट उम्मेदवारी दिनेहरूमा नेकपा (माओवादी) का रामसिंह कुँवर, जनता समाजवादी पार्टी (जसपा) का आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, आम जनता पार्टीका विसनसिंह बोहरा र श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय रहेका छन्। यसैगरी, जयप्रकाश पन्त र तेजबहादुर चन्दले स्वतन्त्र रूपमा आफ्नो मनोनयन दर्ता गराएका छन्।
बैतडीमा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ७ गते उम्मेदवार विरुद्ध दाबी-विरोध र उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उजुरीमाथि जाँचबुझ गरी माघ ९ गते संशोधनसहितको नामावली प्रकाशन गरिनेछ। माघ १० गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने माघ ११ गते सबै उम्मेदवारहरूलाई औपचारिक रूपमा निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले बताए।