नेमकिपाको देशव्यापी चुनावी मोर्चा: ५९ जिल्लाका एक सय २० क्षेत्रमा भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
695
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले देशभरका ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ। पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईका अनुसार यसपटक नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई चुनावी मैदानमा उतारेको छ।
पार्टीले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेकका १२ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ, जसमा २० महिला र १२ पुरुष उम्मेदवार रहेका छन्। बागमती प्रदेश अन्तर्गत नै पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बनाइएको छ।
त्यस्तै कर्णाली प्रदेशका सात जिल्लाका नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाइएको छ। कर्णालीका मुख्य जिल्लाहरू मध्ये कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्खबहादुर राउत, दैलेखमा बखतबहादुर थापा र सुर्खेतमा तुलसी खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ। कोशी प्रदेशका १२ जिल्लामा आठ महिला र १३ पुरुष गरी कुल २१ जना तथा मधेश प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुष गरी २२ जनालाई नेमकिपाले चुनावी मैदानमा पठाएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले त्यहाँ आठ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको छ। गण्डकी प्रदेशमा ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष गरी आठ जना उम्मेदवार छन् भने सुदूरपश्चिम प्रदेशमा बाजुरा बाहेकका आठ जिल्लामा पाँच महिला र नौ पुरुष गरी १४ जनाले मनोनयन दर्ता गराएका छन्।
यसरी देशभर ५९ जिल्लामा फैलिएको उम्मेदवारीले नेमकिपाले यसपटकको निर्वाचनमा आफ्नो उपस्थितिलाई राष्ट्रव्यापी बनाउन र महिला नेतृत्वलाई विशेष प्राथमिकता दिन खोजेको देखिन्छ।