arrow

सुदूरपश्चिममा १६ सिटका लागि दुई सय १० उम्मेदवार मैदानमा, कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
province-pradesh-sudurpashchim-7.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले दिएको जानकारी अनुसार यस प्रदेशका ९ जिल्लाका १६ क्षेत्रबाट कुल २१० जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् जहाँ कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ जनाको उम्मेदवारी परेको छ।

यसैगरी कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पनि उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

अन्य जिल्लाहरूको विवरण अनुसार अछाम क्षेत्र नं १ मा ८ र अछाम–२ मा ९ जना, डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। कुल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले आफ्नो दावेदारी प्रस्तुत गरेपछि चुनावी माहोल निकै तातिएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ७ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएको छ भने माघ ९ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता भाटले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ