छ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्?
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
850
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा मङ्गलबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क अनुसार प्रत्यक्षतर्फका यी पदका लागि देशभरबाट ३ हजार ४ सय ८४ जना उम्मेदवारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।
चुनावी मैदानमा लामो राजनीतिक अनुभव भएका दिग्गज नेतादेखि पहिलोपटक संसदीय प्रतिस्पर्धामा होमिएका नयाँ अनुहारसम्मको उल्लेख्य सहभागिता देखिएको छ। यसपटकको निर्वाचनको एउटा मुख्य आकर्षण भनेको चार पूर्वप्रधानमन्त्रीका साथै ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री बीचको रोचक भिडन्त हो।
मुलुकको आर्थिक बागडोर सम्हालिसकेका र बजेट निर्माणको अनुभव भएका प्रभावशाली नेताहरू यसपटक प्रत्यक्षतर्फबाट संसद छिर्ने दौडमा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्नमा उम्मेदवारी दर्ता गरेका छन्। उनले आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याएका थिए।
त्यसैगरी पाँच पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका र तीन आर्थिक वर्षको बजेट ल्याएका विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन्। सुरुमा उनलाई पाल्पाबाट उठाउने चर्चा चले पनि अन्ततः उनी आफ्नै पुरानो क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पूर्वअर्थमन्त्री वर्षमान पुनले रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् भने अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाटै आफ्नो गृह जिल्ला रुकुम पश्चिमबाट मनोनयन दर्ता गराएका छन्। पुनले २०८१/८२ को बजेट र शर्माले २०७९/८० को बजेट ल्याएका थिए।
यस्तै नेपाली कांग्रेसका तर्फबाट पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ र निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। अघिल्लोपटक समानुपातिक सांसद रहेका महत यसपटक प्रत्यक्षतर्फको प्रतिस्पर्धामा छन्। ललितपुर क्षेत्र नम्बर १ बाट पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा पनि कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका छन्।
राजनीतिक इतिहासलाई हेर्दा यी पूर्वअर्थमन्त्रीहरू कसैले पनि लगातार दुई आर्थिक वर्षको बजेट ल्याउने र आफैँले कार्यान्वयन गर्ने अवसर भने पाएनन्। पटक–पटक फेरिने सरकार र अस्थिर राजनीतिक गठबन्धनका कारण बजेट निर्माण एउटाले गर्ने र कार्यान्वयन अर्कैको पालामा हुने शृङ्खला दोहोरिइरह्यो।
विसं २०६५ यताको बजेट इतिहासमा डा. युवराज खतिवडाले तीन वटा, डा. रामशरण महतले दुई वटा र शङ्करप्रसाद कोइरालाले दुई वटा बजेट लगातार ल्याएको देखिन्छ। यसपटक चुनावी मैदानमा रहेका यी 'आर्थिक सारथी'हरू मध्ये कसलाई मतदाताले पुनः विश्वास गरेर संसदमा पठाउने हुन् भन्ने कुरा निकै चासोका साथ हेरिएको छ।