arrow

कोशीका 'हेभिवेट' नेताहरूको प्रतिष्ठा दाउमा, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

कोशीको २८ सिटका लागि पाँच सय पाँच उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
oli-balen-new.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ। प्रदेशका २८ निर्वाचन क्षेत्रका लागि कुल ५०५ जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको हो। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए। 

अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्यामा केही फेरबदल हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकले सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा उम्मेदवारको चाप बढी देखाएको छ। विशेष गरी सुनसरीका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार मैदानमा छन् जसमा क्षेत्र नम्बर ४ मा मात्रै ३४ जनाको उम्मेदवारी परेको छ। 

सुनसरी-१ मा धरानका पूर्वमेयर हर्कराज राईको उम्मेदवारीले चर्चा कमाएको छ भने क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

मोरङ र झापा पनि यसपटक राजनीतिको मुख्य केन्द्रका रूपमा देखिएका छन्। मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उम्मेदवारी दिएका छन् जसमा डा. शेखर कोइराला, गुरुराज घिमिरे र डा. सुनिल शर्मा जस्ता प्रभावशाली नेताहरू चुनावी मैदानमा छन्। 

उता झापाका ५ निर्वाचन क्षेत्रमा ९० जनाको उम्मेदवारी परेको छ जसमा क्षेत्र नम्बर ५ लाई निर्वाचनको ‘इपिसेन्टर’का रूपमा हेरिएको छ। यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र साह (बालेन) बीचको प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमै ठूलो हलचल पैदा गरेको छ। दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन्। 

झापाकै क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर तथा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार रहेका छन्।

कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि चुनावी उत्साह कम देखिएको छैन। इलाममा २७, उदयपुरमा ३१, धनकुटामा १८ र अन्य जिल्लाहरूमा पनि उम्मेदवारहरूको संख्या उल्लेख्य रहेको निर्वाचन कार्यालयले बताए। 

यसैबीच राजनीतिक वृत्तमा अर्को एउटा महत्त्वपूर्ण घटनाक्रम पनि देखिएको छ जहाँ झापा-४ (२) का राप्रपा प्रदेश सभा सदस्य भक्ति प्रसाद सिटौलाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। 

सभामुखसमक्ष राजीनामा बुझाएर उनी प्रतिनिधिसभाको चुनावी दौडमा सामेल भएका हुन्। अब निर्वाचन आयोगले उम्मेदवार विरुद्धको उजुरी र छानबिनको प्रक्रिया सकेर अन्तिम नामावली प्रकाशन गरेपछि चुनावी प्रचारले थप तीव्रता पाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ