arrow

निर्वाचन २०८२ : प्रत्यक्षतर्फ तीन हजार चार सय ८६ उम्मेदवार, तीन सय ९६ महिला मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रारम्भिक प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ। 

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल ३ हजार ४८६ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। माघ ६ गते भएको देशव्यापी मनोनयन दर्तापछि आयोगले तथ्याङ्क रुजु गर्दा यो सङ्ख्या सार्वजनिक भएको हो।

मनोनयन दर्ता गराएका उम्मेदवारहरूको लैङ्गिक अवस्था हेर्दा अझै पनि पुरुषको तुलनामा महिलाको उपस्थिति निकै न्यून देखिएको छ। कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८९ (करिब ८८.६%) रहेका छन् भने महिलाको सङ्ख्या ३९६ (करिब ११.३%) मात्र रहेको छ। 

यसैगरी, तेस्रो लिङ्गी समूहबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन्। आयोगको निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका उम्मेदवारहरूको योग्यता र अन्य कानुनी प्रक्रियाका बारेमा चित्त नबुझेमा आज (माघ ७ गते) उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

यस पटकको निर्वाचनमा ठूला दलहरूबीचको गठबन्धन र नयाँ राजनीतिक शक्तिहरूको उदयका कारण उम्मेदवारी दर्तामा नयाँ समीकरणहरू देखिएका छन्।

 झापा–५ मा केपी शर्मा ओली र बालेन साह, सर्लाही–४ मा गगन थापा र डा. अमरेश सिंह तथा चितवन–२ मा रवि लामिछाने जस्ता 'हेभिवेट' उम्मेदवारहरूको भिडन्तले देशभर चुनावी सरगर्मी बढाएको छ। निर्वाचन आयोगले उजुरीमाथि छानबिन गरी माघ ९ गतेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ