arrow

लुम्बिनीमा पाँच सय ९९ उम्मेदवारमध्ये ५६ मात्रै महिला: रुपन्देहीमा सबैभन्दा बढी, रोल्पा 'शून्य'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
lumbini-pradesh-province-5.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा महिला उम्मेदवारहरूको उपस्थिति निकै न्यून देखिएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा गरी कुल ५९९ जनाले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या जम्मा ५६ मात्र रहेको छ। 

जम्मा उम्मेदवारको तुलनामा यो सङ्ख्या करिब ९.३४ प्रतिशत मात्र हुन आउँछ। प्रदेशभरका जिल्लाहरूमध्ये सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् भने रोल्पा जिल्लामा भने प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार देखिएका छैनन्।

जिल्लागत विवरण अनुसार दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा समान पाँच–पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई–दुई जना तथा अर्घाखाँची र प्युठानमा एक–एक जना महिलाको उम्मेदवारी परेको छ। 

लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलहरूबाट प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउने दर निकै कम देखिए पनि साना दल र स्वतन्त्रबाट भने महिलाहरूको सहभागिता केही सन्तोषजनक देखिएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार कुल ५९९ उम्मेदवारमध्ये ३९४ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् भने २०५ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। 

संविधानले संसद्मा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरे तापनि प्रत्यक्ष निर्वाचन प्रणालीमा दलहरूले महिलालाई पर्याप्त अवसर नदिएको तथ्याङ्कले स्पष्ट पारेको छ। उम्मेदवारी दर्ताको यो प्रारम्भिक विवरणसँगै अब आयोगले उम्मेदवारमाथिको उजुरी र छानबिनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ