निर्वाचन आयोगको अन्तिम तयारी: आज उम्मेदवारको नामावली प्रकाशन, भोलि निर्वाचन चिन्ह वितरण
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
1.3k
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूमाथि परेका उजुरीहरूको जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको उजुरी जाँचबुझको प्रक्रिया आज बेलुकी ५ बजेसम्म जारी रहनेछ र त्यसलगत्तै उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ। निर्वाचन तालिकाअनुसार आज बेलुकी ५ देखि ७ बजेसम्म नामावली प्रकाशन गरिसकेपछि भोलि माघ ९ गते शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिने समय दिइएको छ।
उम्मेदवारले नाम फिर्ता लिने समय सकिएपछि भोलि नै दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोही दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। यसका लागि देशभरका ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ वटा निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक तयारी पूरा गरिएको आयोगले जनाएको छ। निर्वाचन चिन्ह प्राप्त गरेसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचारप्रसारमा होमिन पाउनेछन्।
देशभरबाट प्राप्त पछिल्लो विवरणअनुसार यसपटक कुल तीन हजार ४८७ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा तीन हजार ८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्। यीमध्ये चारवटा जिल्लाका पाँच जना उम्मेदवारहरूविरुद्ध मात्र उजुरी परेको छ, जसमा सुनसरी निर्वाचन क्षेत्र नं २ का एक, रौतहट क्षेत्र नं १ का एक, भक्तपुर क्षेत्र नं २ का दुई र कैलाली क्षेत्र नं १ का एक उम्मेदवार रहेका छन्। सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूले ती उजुरीहरूमाथि कानुनी प्रावधानअनुसार जाँचबुझ गरिरहेका छन् र आजै त्यसको अन्तिम निर्णय हुनेछ।