arrow

६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, प्रजातन्त्रको अनुभूति अझै नभएको गुनासो

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
democracy-day.jpeg
काठमाडौँ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा शनिबार देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
 
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
 
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । 
 
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
 
विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
 
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । 
 
दिवसका उपलक्ष्यमा सार्वजनिक बिदासमेत दिने गरिएको छ । 
 
सर्वसाधारणले भने प्रजातन्त्रको सही उपयोग गर्न नपाएको गनासो गरेका छन् । उनीहरुले प्रजातन्त्र नेताका लागिमात्र भएको बताउँदै चित्त दुखाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ