मोरङ–३ मा सुनील शर्माको घरदैलो तीव्र, मतदाताको उत्साहजनक साथ
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
994
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी निकै बढेको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनीलकुमार शर्माले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँगको सामीप्यता बढाएका छन्।
डा. शेखर कोइराला समूहका प्रभावशाली नेताका रूपमा चिनिने डा. शर्मा यसपटक पनि कांग्रेसबाट एकल सिफारिस भई चुनावी मैदानमा उत्रिएका हुन्। २०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका उनले यसपटक पनि आफ्नो क्षेत्रका विभिन्न गाउँबस्तीमा पुगेर मतदाताको सुख-दुःख बुझ्दै मत माग्ने कार्यलाई निरन्तरता दिएका छन्।
निर्वाचन क्षेत्रका मतदाताहरूमा डा. शर्माप्रति विशेष आकर्षण देखिएको छ। विशेषगरी गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराएर 'जनताको डाक्टर' को पहिचान बनाएका उनलाई स्थानीयले विकासप्रेमी नेताका रूपमा प्रशंसा गरिरहेका छन्।
घरदैलोका क्रममा भेटिएका स्थानीय मतदाताहरूले उनको विगतको योगदान र सेवाभावका कारण यसपटक पनि आफ्नो मत डा. शर्माकै पक्षमा रहने बताएका छन्। डा. शर्माले पनि मोरङ–३ का जनतालाई आफूले राजनीतिक कार्यकर्ता मात्र नभई परिवारको सदस्यका रूपमा लिने गरेको र बाँकी अधुरा विकासका कामहरूलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताए।
निर्वाचनको प्रचार अभियानमा कांग्रेसका स्थानीय कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति देखिएको छ। डा. शर्माले मतदाताहरूसँगको प्रत्यक्ष संवादमा जोड दिँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको एजेन्डालाई मुख्य प्राथमिकतामा राखेका छन्। आफ्नो क्षेत्रमा रहेका सुकुम्वासी समस्या समाधान र स्वास्थ्य सेवाको पहुँचलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित उनले घरदैलो अभियानलाई थप प्रभावकारी बनाएका छन्।