कञ्चनपुरमा आधा मतदानस्थल ‘अति संवेदनशील’: सुरक्षाका लागि तीन तहको कडा घेरा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
841
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुरका आधा मतदानस्थललाई 'अति संवेदनशील' सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गर्दै विशेष सुरक्षा योजना लागू गरेको हो। कञ्चनपुरका कुल १३२ मतदानस्थलमध्ये ६६ वटालाई अति संवेदनशील, ४० वटालाई संवेदनशील र २६ वटालाई सामान्य सूचीमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रको सङ्ख्या बढी देखिएको हो। निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन तीन घेराको एकीकृत सुरक्षा योजना तयार पारिएको छ। जसअन्तर्गत मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी अर्थात् तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ।
निर्वाचन क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नं. १ मा सबैभन्दा बढी ३४ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन्। त्यस्तै, क्षेत्र नं. २ मा १७ र क्षेत्र नं. ३ मा १५ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा हुने सक्ने घुसपैठ र आपराधिक गतिविधि रोक्न सीमा नाकाहरूमा समेत निगरानी बढाएको छ। मतदानका दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्ने वातावरण मिलाउन मोबाइल गस्ती र आकस्मिक सुरक्षा टोली समेत परिचालन गरिने प्रहरीले जनाएको छ।