arrow

मालारानी–५ बन्यो उम्मेदवारको केन्द्र: एमालेदेखि स्वतन्त्रसम्म एउटै गाउँका चार अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
election-2082.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँची जिल्लामा एउटा रोचक संयोग देखिएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चुनावी मैदानमा उत्रिएका उम्मेदवारमध्ये चार जना एउटै वडाका बासिन्दा रहेका छन्। जिल्लाको मालारानी गाउँपालिका–५, बागी निवासी चार जना नेताहरूले यसपटक संघीय संसदका लागि प्रतिस्पर्धा गर्दैछन्।

बागी गाउँबाट उम्मेदवारी दिनेहरूमा नेकपा (एमाले) का पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहान तथा स्वतन्त्र उम्मेदवारी दिनुभएका रवि शाह र हिमाल भुसाल रहनुभएको छ। एउटै वडा र एउटै गाउँबाट चार–चार जनाले उम्मेदवारी दिएपछि अहिले अर्घाखाँचीको चुनावी चर्चा बागी गाउँमा केन्द्रित भएको छ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल 'मुस्कान' पनि सोही गाउँपालिकाको वडा नम्बर ४, खनदहका बासिन्दा हुनुहुन्छ। यस हिसाबले मालारानी गाउँपालिकाबाट मात्रै कुल पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लाभर विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी एक महिलासहित कुल १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एउटै वडाबाट धेरै उम्मेदवार भएपछि मतदाताहरू कसलाई जिताउने भन्ने रोचक दबाबमा देखिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ