नेपालमा विपद्को कहालीलाग्दो चित्र: नौ महिनामा चार सय २४ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
705
Shares
काठमाडौँ । नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६ वटा विपद्का घटना घटेका छन्।
यी घटनाहरूमा परेर ४२४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६४३ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार ३८ जना अझै बेपत्ता छन् भने ११ हजार ५३५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
विपद्का विभिन्न स्वरूपमध्ये सबैभन्दा भयावह अवस्था आगलागीको देखिएको छ। देशभर भएका २ हजार ६९२ वटा आगलागीका घटनामा ७५ जनाको मृत्यु भएको छ भने २ हजार ९९६ परिवारको उठिबास भएको छ।
यस्तै, मनसुनको समयमा आएको पहिरोका ५७७ घटनामा ७१ जनाले ज्यान गुमाएका छन्। प्राधिकरणका अनुसार बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, वन डढेलो, हुरीबतास र जनावरको आक्रमणका कारण पनि उल्लेख्य मानवीय क्षति भएको छ।
पछिल्लो समय चिसो बढेसँगै आगलागीका घटनामा थप बढोत्तरी भएको भन्दै प्राधिकरणले सामान्य सावधानी अपनाउँदा मात्रै पनि यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिनेतर्फ सर्वसाधारणको ध्यानाकर्षण गराएको छ।