सर्लाहीका एक सय ५८ मतदानस्थल 'अतिसंवेदनशील' सूचीमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
788
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका १५८ मतदानस्थललाई 'अतिसंवेदनशील' सूचीमा राखिएको छ। जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका कुल ३१२ मतदानस्थलको सुरक्षा अवस्था, भौगोलिक विकटता र सीमावर्ती क्षेत्रको संवेदनशीलतालाई आधार मानी वर्गीकरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सामाजिक, राजनीतिक र खुला सिमानाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै १५८ स्थललाई अतिसंवेदनशील, १३१ लाई संवेदनशील र २३ वटालाई सामान्य समूहमा वर्गीकरण गरिएको छ।
सुरक्षा चुनौतीको आधारमा नै ती क्षेत्रहरूमा विशेष सुरक्षा बल परिचालन गर्ने रणनीति तयार पारिएको छ। जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले सुरक्षा समितिको सिफारिसमा केही मतदान केन्द्रको स्थानसमेत हेरफेर गरिएको जानकारी दिएका छन्।
सर्लाहीमा यसपटक कुल ५ लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्, जसमा पुरुषको सङ्ख्या २ लाख ७८ हजार ८३७ र महिलाको २ लाख ३२ हजार ७५८ रहेको छ। वि.सं. २०७९ को निर्वाचनपछि जिल्लामा २२ हजार ५९५ नयाँ मतदाता थपिएका छन्। निर्वाचनका लागि चारवटै क्षेत्रमा गरी ६२८ मतदान केन्द्रहरू स्थापना गरिनेछ।