बागी चन्दले नाम फिर्ता लिएपछि कांग्रेसका चतुरबहादुरलाई राहत
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
1.1k
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीबाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका तेजबहादुर चन्दले आफ्नो नाम फिर्ता लिएका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्वमहाधिवेशन प्रतिनिधिसमेत रहेका चन्दले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए।
चन्दले नाम फिर्ता लिएसँगै बैतडीमा अब चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ र जिल्लामा कुल ११ जना उम्मेदवारहरू चुनावी मैदानमा कायम भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम सूची अनुसार अब बैतडीमा नेकपा (एमाले) का दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुरबहादुर चन्द र नेपाली कम्युनिष्ट पार्टीका प्रमानन्द भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी र श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय पनि चुनावी मैदानमा छन्।
साथै नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवर, आम जनता पार्टीका बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तबीच पनि फागुन २१ गते कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ। उम्मेदवारहरूको अन्तिम टुङ्गो लागेसँगै जिल्लामा चुनावी प्रचारप्रसार र राजनीतिक सरगर्मी थप बढेको छ।