देशैभर चिसो, कतै वर्षा र हिमाली जिल्लामा हिमपात, काठमाडौँमा बाक्लो हुस्सु, हवाई उडान प्रभावित [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
964
Shares
तस्बिर : रासस ।
काठमाडौँ । देशैभर चिसो बढेको छ । विभिन्न सुदूरपश्चिमबाट शुरू भएको वर्षा र हिमपात गण्डकीसम्म आइसकेको छ । यसले घाम लाग्न नसक्दा चिसो बढेको हो ।
काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको हो ।
यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् ।
उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् ।
हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरू प्रभावित भएका छन् । तराईका जिल्लाहरूमा त झन् बाक्लो हुस्सु र कुहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ ।
तराईमा दृश्यता निकै कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने स्कूलहरूमा बिदा दिने क्रम जारी छ ।
मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्नसक्ने अनुमान छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । नागरिकहरूलाई जाडोबाट बच्न न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन र सवारी चलाउँदा विशेष ख्याल गर्न विभागले आग्रह गरेको छ ।
विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई चिसोबाट बच्न शतर्कता अपनाउन सुझाव दिइएको छ ।