टी-२० विश्वकपः भारतमा खेल्न नमानेपछि आईसीसीले बङ्गलादेशको स्थानमा स्कटल्याण्डलाई दियो अवसर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
2.2k
Shares
बङ्गलादेशी बलर मुस्ताफिजुर रहमान
काठमाडौँ । भारतमा खेल खेल्ने विषयमा उत्पन्न विवादका कारण बङ्गलादेशले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपबाट नाम फिर्ता लिएको छ। बङ्गलादेश बाहिरिएपछि उसको स्थानमा स्कटल्याण्डलाई समावेश गरिएको क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबार जनाएको छ।
आईसीसीका अनुसार अब स्कटल्याण्डले समूह ‘सी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ। यो समूहमा स्कटल्याण्डसँगै इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज रहेका छन्। भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने यो विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ।
यो विवादको सुरुवात भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बङ्गलादेशी बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न आइपिएल टोली कोलकाता नाइट राइडर्सलाई दिएको निर्देशनपछि भएको हो। साथै, बङ्गलादेशमा हिन्दु समुदायमाथि आक्रमण भएको भन्दै भारतका केही समूहले विरोध प्रदर्शन गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ। ढाकाले भने भारतीय सञ्चारमाध्यमले हिंसाको घटनालाई बढाइचढाइ गरेको दाबी गर्दै आएको छ।
सुरक्षाको कारण देखाउँदै बङ्गलादेशले आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न आग्रह गरेको थियो। तर, आईसीसीले सुरक्षाको कुनै विश्वसनीय खतरा नभएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेपछि बङ्गलादेशले प्रतियोगिता नै नखेल्ने निर्णय गरेको हो। यसबाट छनोटमा बाहिरिएको स्कटल्याण्डले वरियताका आधारमा पुन: विश्वकप खेल्ने अवसर पाएको छ।
सन् २०२४ को जनविद्रोहपछि प्रधानमन्त्री शेख हसिना अपदस्थ भएर भारतमा शरण लिन पुगेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको छ। हाल बङ्गलादेशमा अन्तरिम सरकार रहेको छ र देश चुनावी तयारीमा जुटेको छ। खेलकुदमा देखिएको यो पछिल्लो राजनीतिक प्रभावले क्रिकेट जगतमा नयाँ बहस सिर्जना गरेको छ।