देशभर २४ घण्टामा २४ विपद्: आगलागी र हिमपातले जनजीवन प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
584
Shares
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विभिन्न विपद्का घटनाहरू घटेका छन्। विशेषगरी हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा भएका विपद्का घटनाहरूमध्ये आगलागीका घटना सबैभन्दा धेरै रहेका छन्।
हिउँदको सुख्खा मौसममा आगलागीको जोखिम बढ्ने भएकाले जनधनको ठूलो क्षति भइरहेको प्राधिकरणले उल्लेख गरेको छ। पछिल्लो एक दिनमा देशभर १६ वटा आगलागीका घटना दर्ता भएका छन्। परालको कुन्युमा लागेको आगो, हावाहुरीले आगो फैलाउँदा भएका क्षति र आगो ताप्ने क्रममा भएको असावधानीका कारण यी घटनाहरू भएका हुन्। यी विपद्हरूमा परी कुल २५ लाख ३० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ भने सात जना व्यक्ति घाइते भएका छन्।
प्राधिकरणको तथ्याङ्क अनुसार मोरङमा दुईवटा तथा सुनसरी, भोजपुर, सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान र कैलालीमा एक–एक वटा आगलागीका घटना भएका थिए। अर्कोतर्फ बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडी लगायतका जिल्लामा हिमपातले सर्वसाधारणको दैनिक कामकाज प्रभावित पारेको छ। यसका साथै सप्तरी, कपिलवस्तु र डोटीमा जङ्गली जनावरको आक्रमणका घटना समेत घटेका छन्। प्राधिकरणले यस्ता विपद्बाट जोगिन र आगोको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ।