काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै सिरहा जिल्लामा राजनीतिक रौनक ह्वात्तै बढेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र पूर्वमन्त्री भइसकेका नौ जना हेभीवेट उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। विशेषगरी सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासो र चर्चाको केन्द्र बनाएको छ।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
त्यसैगरी क्षेत्र नं ३ मा नेकपा (एमाले) बाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा छन्। यी दुई पुराना र अनुभवी नेताहरूको भिडन्तले यहाँको चुनावी माहोललाई थप रोचक बनाएको छ।
सिरहा क्षेत्र नं ४ मा भने पाँच जना पूर्वमन्त्रीहरू एकैसाथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक र नेकपा (एमाले) बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
यसका साथै जनमत पार्टीका तर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन्।
पटक-पटक मन्त्री भइसकेका पुराना नेताहरूको बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले तपेश्वर यादवलाई उम्मेदवार बनाएको छ।