arrow

अस्पतालबाटै हरायो पोष्टमार्टमका लागि राखिएको निशाको शव, गोलबजार तनावग्रस्त

प्रेम सम्बन्ध र आत्महत्याको कडी खोज्दै गर्दा प्रमाण नै हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
nisha-body.jpg

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै रहस्यमय ढङ्गले हराएपछि लहान र गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ। पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव नै गायब भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्डमा चक्काजाम गरी विरोध प्रदर्शन गरेका छन्।

घटनाको पृष्ठभूमि अनुसार गत शुक्रबार (माघ ९ गते) निशा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले आत्महत्याको प्रारम्भिक अनुमान गर्दै कानुनी प्रक्रियाका लागि शव लहान अस्पताल पठाएको थियो। रोजगारीका सिलसिलामा भारतमा रहेका निशाका आमा–बुबा छोरीको मृत्युको खबर पाएर आइतबार शव बुझ्न अस्पताल पुग्दा शव फेला नपरेपछि घटनाले उग्र रूप लिएको हो। अस्पताल जस्तो संवेदनशील ठाउँबाट पोष्टमार्टम नै नभएको शव हराउनुलाई स्थानीयले गम्भीर लापरबाही र ठूलो षड्यन्त्रको रूपमा लिएका छन्।

मृतक किशोरीको मृत्यु हुनुभन्दा अघिल्लो दिन लहानकै एक युवकको घरमा बसेको र उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुल्न आएको छ। युवकको घरबाट फर्किए लगत्तै आत्महत्या हुनु र शरीरमा चोटपटक देखिनुले घटना शङ्कास्पद रहेको स्थानीय आनन्द लामा र शिक्षक समर भण्डारीको दाबी छ। उनीहरूले अस्पताल र प्रहरी प्रशासनको मिलोमतोमा प्रमाण मेटाउन शव गायव पारिएको हुनसक्ने आशङ्का गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

अस्पतालका प्रमुख डा. रञ्जित झाले सुरुमा सम्पर्क विहीन भए पनि पछि दबाबका बीच बाहिर आएर शव 'मिसप्लेस' (अर्कै ठाउँमा परेको) हुनसक्ने गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन्। यता, वडा अध्यक्ष धनप्रसाद लामाले आज बिहान १० बजेसम्म शव उपलब्ध नगराए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। शवको खोजी र दोषीमाथि कारबाहीका लागि दबाब बढ्दै जाँदा स्थानीय प्रशासन भने यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ