arrow

जनयुद्धका सारथिदेखि कृषि क्रान्तिसम्म: मुगुमा 'गुलाब' चिह्न लिएर भोट माग्दै संगम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
rangabir-paryar-sangam.jpg

काठमाडौँ । सशस्त्र जनयुद्धको कठिन यात्रादेखि कृषि क्रान्तिसम्मको अनुभव बटुलेका मुगुका ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि पुनः प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्। 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्। प्रेमको प्रतीक मानिने ‘गुलाब’ चुनाव चिह्न लिएर उनी यतिबेला मुगुका गाउँ–बस्तीमा पुगेर मतदातासँग भोट मागिरहेका छन्।

खत्याड गाउँपालिका–९ निवासी संगमको राजनीतिक यात्रा २०५८ साल माघ १० गते मेडिकल पेसा त्यागेर जनयुद्धमा होमिएसँगै सुरु भएको थियो। लामो समय सक्रिय राजनीतिमा रहेका उनका समकालीन नेताहरू नवराज धामी संविधानसभा सदस्य, मंगलबहादुर शाही प्रदेशसभा सदस्य र अजबहादुर शाही गाउँपालिका अध्यक्ष बन्दा संगम भने लाभको पदभन्दा टाढै रहे। 

२०६९ सालसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै रहेका उनी पछि मोहन वैद्य हुँदै हाल विप्लव नेतृत्वको नेकपाको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्। २०६४ मा समानुपातिकको बन्दसूचीमा परेर पनि अवसर नपाएका संगम यसपटक प्रत्यक्ष निर्वाचित भएर नीति निर्माण तहमा पुग्ने लक्ष्यमा छन्।

मुगुको समृद्धिका लागि ठेकेदारी प्रथाको अन्त्य र आफन्तलाई योजना बाँड्ने बेथितिको अन्त्य हुनुपर्ने उनको मुख्य चुनावी एजेन्डा छ। भ्रष्टाचारविरोधी अभियानकै क्रममा २४ दिन हिरासत बसेका संगमले राजनीतिकसँगै कृषि क्षेत्रमा पनि उदाहरणीय काम गरिरहेका छन्। 

उनले छायानाथ रारा नगरपालिकामा ५ सय बोट स्याउ, खत्याडमा कागती बगैँचा र सिमी फर्म सञ्चालन गरेर 'कृषि क्रान्ति' को सन्देश दिइरहेका छन्। मतदाताले 'मान्छे राम्रो तर पार्टी सानो' भन्ने प्रतिक्रिया दिए पनि आफ्ना एजेन्डा र जनतासँगको सामीप्यताका कारण यसपटक मुगुका जनताले आफूलाई जिताउनेमा उनी पूर्ण विश्वस्त देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ