arrow

प्रतिनिधि सभा निर्वाचन

खोटाङमा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय टक्करको संकेत

१५ उम्मेदवारबीच रोचक भिडन्त, मतदाताको मन जित्न घरदैलोमा नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
election-2082.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खोटाङमा चुनावी सरगर्मी निकै बढेको छ। जिल्लाको एउटै मात्र निर्वाचन क्षेत्रका लागि १५ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्, जसमा दुई स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेका छन्। उम्मेदवारी दर्तासँगै यतिबेला सबै नेताहरू मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन्।

यस पटकको निर्वाचनमा पनि मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

२०७९ को निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएको यस क्षेत्रमा यसपटक एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई मैदानमा उतारेको छ भने कांग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ। त्यस्तै, हरि रोकालाई उम्मेदवार बनाएको नेकपाले ६ जना पूर्वसांसदको साथ र उम्मेदवारको बौद्धिक क्षमताका आधारमा आफूहरूको जित सुनिश्चित रहेको दाबी गरेको छ।

जिल्लामा पुराना दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरी, श्रम संस्कृति पार्टीका आरेन राई र राष्ट्रिय परिवर्तन पार्टीका २५ वर्षीय युवा मिरेश राईले चुनौती दिइरहेका छन्। यसबाहेक राप्रपाका दीपक तामाङ, माओवादीका चन्द्रबहादुर बुढाथोकी 'शैलेस', जसपाका राकेश राई र सुनिल चाम्लिङ पनि प्रतिस्पर्धामा छन्। 

डा. राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। स्थानीय तहको नतिजाअनुसार सबैभन्दा धेरै जनप्रतिनिधि रहेको कांग्रेस र सांगठनिक रूपमा बलियो एमाले तथा नेकपाबीचको यो त्रिपक्षीय भिडन्तलाई निकै चासोका साथ हेरिएको छ।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले १३६ मतदान स्थल र १९५ मतदान केन्द्र निर्धारण गरेको छ। जिल्लामा कुल १ लाख ४७ हजार १२० जना मतदाता रहेका छन्, जसले आगामी फागुनमा जिल्लाको राजनीतिक भविष्यको फैसला गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ