arrow

मतदाता रिझाउँदै सुनील शर्मा, बदलिएको कांग्रेसले मात्रै देश बदल्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
sunil-sharmass.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनील शर्माले देशको मुहार फेर्न अब 'बदलिएको कांग्रेस'लाई विजयी गराउनुको विकल्प नभएको बताएका छन्। चुनावी घरदैलोका क्रममा मतदातासँग संवाद गर्दै उनले कांग्रेस अहिले पूर्ण रूपमा युवामैत्री, समावेशी र बीपी कोइरालाले परिकल्पना गरेकै बाटोमा फर्किएको दाबी गरे।

नागरिकको प्रत्येक मत अत्यन्तै मूल्यवान हुने उल्लेख गर्दै डा. शर्माले कुनै पनि अन्योलमा नपरी 'रुख' चिह्नमा मतदान गर्न आह्वान गरे। बीपी कोइराला र पुराना नेताहरूले स्थापना गरेको जगलाई अहिलेको युवा नेतृत्वले मलजल गरिरहेको भन्दै उनले बदलिएको कांग्रेसले मात्रै मुलुकमा आर्थिक र सामाजिक परिवर्तन ल्याउन सक्ने जिकिर गरे।

आफ्नो निर्वाचन क्षेत्रका जनताप्रति पूर्ण विश्वास व्यक्त गर्दै उनले भने, "तपाईंहरूले मलाई पहिला पनि साथ दिनुभयो, यसपटक मतको अन्तर अझै बढाएर एक नम्बर बनाइदिनुहुनेछ भन्नेमा म विश्वस्त छु। फागुन २१ गते बाकस खोल्न मात्र बाँकी हो, जनताको मन त कांग्रेसले जितिसकेको छ।"

उनले आफू निर्वाचित भएपछि कुनै सुरक्षा गार्ड नराखी सधैँ जनताकै बीचमा हाँसिहाँसी सेवा गर्न आउने प्रतिबद्धता समेत जनाए। युवा कांग्रेसको काँधमा देश परिवर्तनको जिम्मेवारी आएको भन्दै उनले बीपीको प्रजातान्त्रिक समाजवाद र समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न मतदाताको साथ अनिवार्य रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ