सुन्तला बेचेरै गाउँमा भित्रियो २० करोड, एकै वर्ष ३२ करोडको निर्यात
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
950
Shares
काठमाडौं । पर्वत जिल्लाबाट यस वर्ष ३२ करोड रुपैयाँभन्दा बढीको सुन्तला निर्यात भएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तला बिक्री गरेर कृषकहरूले कुल ३२ करोड ५ लाख रुपैयाँ भित्र्याउन सफल भएको कृषि विकास कार्यालयले जनाएको छ।
जिल्लाको सबैभन्दा बढी सुन्तला फल्ने बाँसखर्कबाट मात्रै २० करोडको सुन्तला बाहिरिएको छ। त्यस्तै मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, देउपुर, बाजुङ, चित्रे, कुर्घा, पाङराङ, ठानामौला र लिमिठाना लगायतका स्थानबाट सुन्तला निर्यात गरिएको हो। कार्यालयका अनुसार यस वर्ष ३ हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। कृषकले प्रतिकिलो ९५ देखि १२० रुपैयाँसम्म बोटबाटै मूल्य पाएका छन्। कृषि विकास कार्यालयकी सूचना अधिकारी सोविता सुवेदीले यस वर्ष उत्पादन र बजार मूल्य दुवै राम्रो रहेको जानकारी दिइन्।
व्यावसायिक सुन्तला खेती गरिरहेका किसानहरू उचित मूल्य पाएपछि हर्षित छन्। गाउँ-गाउँमा सडक पुगेपछि काठमाडौँ, नारायणगढ र पोखराका व्यापारीहरू बगानमै आउन थालेका छन्। कतिपय किसानले आफैँ बुटवल र काठमाडौँका बजारसम्म पुर्याएर सुन्तला बिक्री गरेका छन्। फलेवास–११ का कृषक रामप्रसाद गौतमले एउटै टोलबाट १ देखि डेढ करोड रुपैयाँसम्मको सुन्तला बिक्री भएको बताए।
सुन्तला खेतीमा किसानलाई प्रोत्साहन गर्न प्रदेश र स्थानीय सरकारले तालिम, गोडमेलका सामग्री र आवश्यक विषादी सहयोग गर्दै आएका छन्। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता सडकले बजारीकरणमा ठूलो सघाउ पुर्याएको छ। यहाँका किसानले सुन्तलालाई ग्रेडिङ (जेठी, माइली, कान्छी) गरेर बिक्री गर्ने गरेका छन्। माघको अन्तिमसम्म बोटमै सुन्तला रहने हावापानी भएकाले पनि यहाँको सुन्तलाले बजारमा राम्रो मूल्य पाउने गरेको हो।
हाल पर्वतको ८३३ हेक्टर क्षेत्रफलमा ४०० भन्दा बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन्। विशेषगरी जलजला, फलेवास र मोदी गाउँपालिकामा सुन्तला खेतीप्रति किसानको आकर्षण झन् बढ्दै गएको छ।