arrow

बालेनको मौनतामा शङ्का

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८२ माघ १८ आइतबार
rajendra-panthi-82-10-18.jpg.jpeg

यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको माहोलले माघको चिसोमा पनि राजनीति असाध्यै तातेको छ । लोकतन्त्रको एक सौन्दर्य भनेको आम निर्वाचन हो । अहिले हुन थालेको निर्वाचन अप्रत्याशित रूपमा विशेष परिस्थितिका कारण हुन गएको निर्वाचन हो । संविधानत: आवधिक निर्वाचन भनेको २०८४ मा हुनुपर्ने हो तर गत भदौ २३ र २४ को जेन-जी आन्दोलन र विद्रोहले नयाँ राजनीतिक परिस्थिति सिर्जना गर्यो र प्रतिनिधि सभा विघटन भयो । 

यस्तो विशेष परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा फागुन २१ मा नयाँ प्रतिनिधि सभा निर्वाचन गराउने गरी अन्तरिम चुनावी सरकार गठन गरेका थिए । भदौ २७ गते बनेको यो अन्तरिम सरकारले निर्वाचन आयोग मार्फत निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू अगाडि बढाइरहेको छ । चुनावी प्रक्रियाअनुसार निर्वाचनमा विभिन्न दलहरूका प्रतिनिधि र स्वतन्त्रसहित पहिलेको तुलनामा नयाँ नयाँ अनुहारहरू चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिरहेका छन् । 

अहिलेको तात्तातो सञ्चारीय र संजालीय चुनावी प्रचार प्रसारलाई हेर्दा देश राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार वालेन्द्र शाह (बालेन)मय देखिन्छ । पूर्वदेखि पश्चिमसम्म दौडिरहेको यो बालेनमय चुनावी हावाले गर्दा नेपाली कांग्रेस र एमालेजस्ता पुराना पार्टीहरूका चुनावी गतिविधिसमेत ओझेलमा परेका छन् । देशका सबैभन्दा ठूला मिडियादेखि सामाजिक सञ्जालका हरेक प्लेटफममा बालेनकै चर्चा र बहस छ ।

गत स्थानीय निर्वाचनमा अप्रत्याशित रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएदेखि नै बालेन नेपाली राजनीतिमा चर्चा र बहसका पात्र बनिरहेका छन् । संघीय राजधानी जस्तो सहरमा कांग्रेस र एमाले जस्ता पुराना राजनीतिक दलहरूको वर्चश्वलाई तोड्दै बालेन स्वतन्त्र रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा अत्यधिक मत र मतान्तरसहित विजयी हुनुले पनि नेपाली राजनीतिमा तरङ्ग नै पैदा भएको हो । 

बालेन निर्वाचित भएको त्यो निर्वाचन परिणामलाई पुराना पार्टीले लोकप्रियता र अपवाद हो भन्दै अझै पनि सहजै स्वीकार्न सकेका छैनन् । वास्तवमा बालेनको त्यो विजय भनेको पुराना दलप्रतिको तीव्र असन्तुष्टि र आक्रोशको अभिव्यक्ति नै थियो । गत स्थानीय निर्वाचनमा बालेनसहित केही स्वतन्त्रहरूको विजय र प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको उपस्थितिलाई नयाँ र वैकल्पिक भन्नेहरू उदाए भनिएको छ । 

प्रतिनिधि सभामा तुलनात्मक रूपमा थोरै संख्या प्राप्त गरे पनि रास्वपा मुखरित भएको देखियो । जे होस् रास्वपाले आफू सक्दो आवाज संसदमा उठायो ।रास्वपाले आफ्नै सभापति रवि लामिछाने नै अदालतमा सहकारी मुद्दामा आरोपित हुनाले जनताका मुद्दामा जति समय दिनुपर्नेमा त्यो भने दिन सकेन । करिब दुई वर्ष त नेपाली राजनीति रवि लामिछाने केन्द्रित नै रह्यो । गत संसदीय निर्वाचनपछि पनि सत्ताका लागि अनेक थरीका फोहरी खेलहरू भए । सत्ता निर्माणका लागि सबै विकल्प प्रयोग गरिए तर कुनैले सफलता पाउन सकेनन् । पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेसको करिब दुई तिहाईको सरकारसमेत जेन-जी आन्दोलन/विद्रोहका कारण भागाभाग हुनुपर्ने परिस्थिति आयो ।

२०४६ पछि नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादीजस्ता पार्टीहरूले पटक पटक सत्ता सम्हाल्दा पनि नेपाली जनताका आवाज र मागलाई कसैले सम्बोधन गर्न सकेनन् र जिम्मेवार अनि जवाफदेही पनि हुन सकेनन् । देश भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादले थिलोथिलो भयो । जनताको आक्रोश थामिनसक्नु भई भदौ २३ मा जेन-जी विद्रोहको रूपमा विस्फोट भयो । त्यो जनताको असन्तुष्टिको विद्रोह नै हो भनेर एमाले बाहेकका दलहरूले आधिकारिक रूपमा स्वीकारेका पनि छन् । त्यसबेला नेकपा (एमाले) ले सरकारको नेतृत्व गरेको हुनाले पनि एमालेले आफ्नो असक्षमता स्वीकार्न नसकेको देखिन्छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले विभिन्न देशीविदेशी शक्तिलाई दोष दिई उम्किन प्रयत्न गरिरहेका छन् । अहिले उनी निर्वाचनको मुखमा आएर कतै सहानुभूति पाइन्छ कि भनेर लचिलो बन्दै र चिल्लो घस्दै छन् तर समय धेरै अगाडि बढिसकेको छ । वास्तवमा ओलीकै अहंकार,दम्भ र बकम्फुस गफले नेपालमा थुप्रै राजनीतिक  दुर्घटना भएका छन्।जेनजी आन्दोलनपछि उनी पार्टीभित्र थप बलियो देखिन महाधिवेशन मार्फत तेस्रो कार्यकालको लागि अध्यक्ष बनेका छन्।एमालेले जेनजी आन्दोलन/ विद्रोहलाई प्रतिक्रान्ति/विध्वंशको संज्ञा दिएको छ। 

नेपाली कांग्रेसले भने भदौ २३ र २४ को विद्रोहको आशयलाई बुझेर जबर्जस्त विशेष महाधिवेशन मार्फत भएपनि पार्टीलाई सांगठानिक रूपमा नयाँ बनायो।नेपाली कांग्रेसले विशेष महाधिवेशन मार्फत नेतृत्वमा पुस्तान्तरण नै गरायो । यतिबेला नेपाली कांग्रेस आफू बदलिएँ भनेर चुनावी मैदानमा उत्रिएको पनि छ । कांग्रेसका आगामी दिनका कार्यशैली कस्ता हुन्छन्,ती हेरेरै मात्र टिप्पणी र आलोचना गर्न उपयुक्त हुनेछ । अहिलेलाई यत्ति बुझ्न सकिन्छ कि पोखरीमा जमेको पानी जस्तो भएको कांग्रेस केही सफा देखिएको छ । पुस्तान्तरण र रूपान्तरणको मुद्दा उठाएका केही युवाहरू पार्टीमा जरा गाडेको नेतृत्वलाई जबर्जस्त हटाउन सफल भएका छन् । हेरौँ, बदलिएँ भनेको कांग्रेसले नेपाललाई कसरी बदल्ने रहेछ ।

नेपाली राजनीतिमा सत्ताका लागि जस्तो सुकै पनि खेल खेल्ने अर्का पात्र हुन् - पुष्पकमल दाहाल प्रचण्ड । तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले पार्टीको नाम नै परिवर्तन गरी नेपाली कम्युनिष्ट पार्टी बनाएर आफू संयोजक बनेका छन् । उनले करिब दुई दर्जन नामधारीका पार्टीका टाउकाहरू मिलाएर विशाल पार्टी बनाएँ भन्दै सुरक्षित ठाउँ खोज्दै चुनावी प्रतिस्पर्धाको लागि पूर्वी रुकुम पुगेका छन् । २०५२ सालमा सशस्त्र युद्धबाट मौलाएको माओवादी २०६४ मा संसदमा सबैभन्दा ठूलो दल बन्दा पनि आफ्नो अस्तित्व जोगाउन सकेन । अन्ततः पार्टी  फुट्दै गएर सुक्यो;अहिले केवल थोरै नेताहरू मात्र कहिँकतै देखिन्छन् ।    

नेपाली जनता ३५ वर्ष सत्ताको रजगज गरेका पुराना  दल र तिनका अधिकांश नेताहरूप्रति निकै आक्रोशित छन् । अब पनि नेपाली जनता पुराना राजनीतिक दलहरूप्रति आशा र विश्वास गर्ने पक्षमा छैनन् । यी पुराना दलहरूले जनतालाई कसरी भरोसा र विश्वास दिलाउछन्, त्यो हेर्न बाँकी नै छ । पुराना दलले हेक्का राख्नुपर्छ कि अब पनि जनता लम्बेतान सैद्धान्तिक घोषणापत्रलाई विश्वास गरेर,आश्वासन पोका प्राप्त गरेर,चिप्ला र बक्म्फुस गफ सुनेर मतदान गर्ने पक्षमा छैनन् । पुरानै पात्र र प्रवृत्तिलाई हेर्दाहेर्दा जनताहरू असाध्यै दृष्टिथकानमा छन् ।

यसपालिको चुनावी मैदानमा एउटा नयाँ पात्र बालेनले चुनावी माहोल राम्रै तताएका छन् । उनले काठमाडौँ महानगरपालिकामा आफ्नो कार्यकाल पूरा नगरी जनभावना र मतको अपमान गरी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका छन् । बालेनले आफूले किन तात्क्षणिक निर्णय गरी राजीनामा दिएँ भन्ने  बारेमा महानगरबासीलाई केही अझैसम्म  प्रतिक्रिया दिएका छैनन् । उनी यस बारेमा बोलेका छैनन् । 

उनी अहिले रास्वपाका वरिष्ठ नेता भएका छन् । यतिबेला एकथरी ठूलो हावा र भीडले बालेनलाई अवतारीकरण र देवत्वकरण गरिरहेको पनि देखिन्छ । कुनैबेला रविको पर्याय बनेको रास्वपा अहिले बालेनको पर्याय जस्तो बनेको छ । बालेन देशको एउटा राजनीतिक शक्ति रास्वपाका वरिष्ठ नेता हुन् । उनी सामाजिक, राजनीतिक र एउटा सार्वजनिक व्यक्ति  हुन् । 

नेपाली समाजले नै विभिन्न आशा र विश्वासका साथ एउटा सामान्य इन्जिनियर र गायकलाई आजको बालेन बनाएको हो।उनी काठमाडौको मेयर बनेर अहिलेसम्म आउँदा पनि जनतासँग खासै भिज्न चाहेका छैनन्।उनी किन जनतासंँग नजिक हुन चाँहदैनन् र मिडियामैत्री बन्न सक्दैनन् भन्नेमा आशंका उठिरहेका छन्।उनका अधिकांश कार्यशैलीहरू कुनै एउटा चलचित्रमा अकस्मात र कुनै अद्भुत अवतारका रूपमा देखिने नायकका जस्ता छन्।राजनीति भनेको राज्यका सम्पूर्ण नीतिको केन्द्र हो।कुनै व्यक्ति राजनीतिक पात्र हुन उसमा राजनीतिक आचरण र व्यवहार हुनुपर्छ।कुनै अद्भुत अवतारको शैलीमा गरिने राजनीतिमा स्थायित्व,भरोसा  विश्वास हुँदैन।विश्वका विभिन्न देशहरूमा लोकप्रियता र अवतारका शैलीमा गरिएका राजनीति असफल भएका थुप्रै उदाहरणहरू छन्।देवत्वकरण र लोकप्रियताले क्षणिक परिवर्तन त होला तर खास समस्याको दीर्घकालीन समाधान दिन सक्दैन।

रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेनले आफ्नो देश बनाउने योजना र भिजनसहित जनतामा उपस्थित हुनुपर्छ।बालेन छत्तीस वर्षे युवा हुन्;उनको लामो राजनीतिक इतिहास पनि छैन । बालेनले काठमाडौँ महानगरपालिकामा प्रमुख हुँदा केही राम्रा र सुधारात्मक काम गरेका छन् । केवल यसैका आधारमै उनको बोली नै नसुनी उनी अद्भूत,विशेष र भिन्न नै छन् भनी प्रधानमन्त्रीमा पनि सक्षम हुन्छन् भनी आशा र विश्वास गरिहाल्ने हो र ? उनले आफ्नो मौनता तोडेर जनता र मिडियाका अगाडि आफ्ना वाचा प्रस्तुत गर्नुपर्छ अनि नेपाली जनताले उनलाई काम र परिणामका आधारमा विश्वास गर्नुपर्ने हुन्छ । 

जनप्रतिनिधि भनेको जनताको आशा,भरोसा र अभिभावक हो । आम जनतालाई राज्यसँग जोड्ने सेतु भनेको जनप्रतिनिधि हो।कुनै खास पहिरन र भेषभूषामा सजिएर  पुराणहरूमा बताइएका कथामाजस्तो अवतारीकरणले जनप्रतिनिधि बन्न सकिन्न।जनतासँग आँखा जुधाई उनीहरूको सुख र दुखमा साथ दिएर जनप्रतिनिधि बनिन्छ । प्रधानमन्त्री बन्न हिडेको व्यक्ति जनतासँग नबोलेर कसरी प्रधानमन्त्री बन्न सक्छ ? जनतासँग बोल्नै नचाहनुको कारण के हो ? 

यस्तो पात्रलाई जनताले किन र कसरी विश्वास गर्ने?बालेनमा देशको नेतृत्व गर्नसक्ने क्षमता र कुशलता छ भनेर आम नेपालीले विश्वास गर्ने आधारहरू के के हुन् ? प्रधानमन्त्री भनेको देशको कार्यकारी नेतृत्व हो । प्रधानमन्त्रीको दौडमा निस्किएको व्यक्तिले आफ्ना योजना,उद्देश्य र वाचा जनताका अगाडि राख्नुपर्छ । बालेन मेयर भएपछि उनीमाथि थुप्रै आरोपहरू लागेका छन्,ती आरोपहरूको खण्डन उनले गर्नुपर्छ । नेता जनतासँग पुग्ने एउटा महत्त्वपूर्ण माध्यम आम सञ्चार पनि हो। 

बालेन मिडिया र प्रश्नबाट भाग्नुहुँदैन। जनताले बालेनको विचार,धारणा र उद्देश्य निर्वाचन अघि नै सुन्न पाउनुपर्छ।बालेनको डिजिटलमा प्रयोग गरिएको भाषालाई मात्र आधार बनाएर सम्पूर्ण रूपमा उनलाई कसरी विश्वास गर्न सकिन्छ र ? बालेनले यस्ता थुप्रै प्रश्नहरूको उत्तर नदिई प्रधानमन्त्री बनेर नायकबाट कतै अधिनायक हुन्नन् भनेर कसरी विश्वास गर्ने ? 

लोकतन्त्र जस्तो सुन्दर व्यवस्थामा बालेनले जनतासँग दोहोरो सम्वाद नगरी मौन रही निर्वाचन जित्न खोज्नुको कारण के हो ? यहाँ बालेनले मौनता तोड भन्नुको अर्थ आश्वासनका पोका मात्र फालेर केवल भाषणबाजी गर भनिएको होइन। बालेन अवतारीकरण नभिई नेता बनेर जनतासँग जाऊ, मिडिया फेस गर, आफ्ना योजना र दृष्टिकोण जनतालाई सुनाऊ । दोहोरो सम्वाद गर । जतिबेला पनि औपचारिक नबन । भीड र स्टन्टका पछाडि मात्र नदौड भन्ने नै हो । नत्र कसले पत्याउँछ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ