arrow

निर्वाचन आचारसंहिता उल्लङ्घन

बालेन र हेमराजसहित थप नौ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
balen-terathum.jpg

काठमाडौँ ।  निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनासँग स्पष्टीकरण माग गरेको छ। शनिबारसम्म २१ जनालाई स्पष्टीकरण सोधिसकेको आयोगले आइतबार र सोमबारको निर्णयबाट यो सङ्ख्या २९ पुर्‍याएको हो। 

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुराका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार हेमराज थापाले बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको उजुरी परेकाले उनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ। थापाले मुख्यमन्त्री कार्यालयमै पुगेर अपशब्द बोलेको र त्यसलाई सामाजिक सञ्जालमा समेत पोष्ट गरेकाले उनले आचारसंहिता पालना गरे/नगरेकोबारे आयोगले प्रश्न गरेको हो।

यस्तै, झापा क्षेत्र नं ५ का रास्वपा उम्मेदवार बालेन्द्र साह (बालेन) लाई आयोगले आइतबार दोस्रो पटक स्पष्टीकरण सोधेको छ। शाहको चुनावी प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको र ती प्रहरीले बालेनका लागि भोट मागेको भनिएको श्रव्यदृश्य सामग्री (भिडियो) प्राप्त भएपछि आयोगले यसबारे वास्तविकता के हो भनी सोधपुछ गरेको हो। 

उनलाई पनि तीन दिनभित्र चित्तबुझ्दो जवाफ पठाउन भनिएको छ। निर्वाचनका बेला उम्मेदवार लक्षित भ्रामक र अमर्यादित सन्देश फैलाउने अन्य व्यक्ति र सञ्चारमाध्यमका बारेमा पनि आयोगले थप कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ।

यसैगरी, सिन्धुपाल्चोक क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको चुनाव चिह्न पेन्ट गरेर राखेको भन्दै नेपाली कम्युनिष्ट पार्टी र सोही क्षेत्रका उम्मेदवार माधव सापकोटालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन कानुनविपरीत दलको चिह्न प्रदर्शन गरेको पुष्टि भएमा जिल्ला कार्यसमितिलाई किन कारबाही नगर्ने भनी आयोगले प्रश्न गरेको छ। 

आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि विभिन्न विषयमा स्पष्टीकरण माग गरेको छ। प्रवक्ता जिसीका अनुसार हालसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ र प्राप्त जवाफहरूको अध्ययन भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ