दोलखामा अजयबाबु शिवाकोटीको घरदैलो शुरू: महांकालको दर्शन गरी मतदाताको आँगनमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
1.1k
Shares
चरीकोट । नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले सोमबारदेखि आफ्नो चुनावी घरदैलो कार्यक्रम शुरू गरेका छन् । उनले सोमबार बिहान भीमेश्वर नगरपालिकास्थित महांकाल मन्दिरको दर्शन गरी आफ्नो अभियानको औपचारिक थालनी गरेका हुन् ।
शिवाकोटीले भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ बाट मतदाता भेटघाटको कार्यतालिका अघि बढाएका छन् । उनले पहिलो दिन सोही वडाका किरणछाया, बोक्सिला र विष्णुटोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् ।
आफ्नो गाउँठाउँको उम्मेदवारका रूपमा अजयबाबुलाई पाउँदा स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । घरदैलोका क्रममा मतदाताले उनलाई स्वागत गर्दै स्थानीय समस्या र विकासका अपेक्षाका बारेमा सुनाएका थिए।
शिवाकोटीले पनि आफू जनताको प्रतिनिधि भएर दोलखाको मुहार फेर्न चुनावी मैदानमा आएको र विजयी भएपछि सधैँ जनताकै साथमा रहने प्रतिबद्धता जनाएका छन् । आगामी निर्वाचनका लागि उनले आफ्नो क्षेत्रका सबै टोल र बस्तीमा पुगेर मतदाताको आशीर्वाद लिने योजना बनाएका छन् ।
भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका शिवाकोटीप्रति युवा पुस्ताको विशेष आकर्षण देखिएको छ । उनले आफ्नो घरदैलो अभियानलाई अझ तीव्र बनाउने र दोलखाको समग्र आर्थिक तथा सामाजिक विकासका एजेन्डाहरू जनतामाझ लैजाने बताएका छन् ।
उनको पहिलो दिनको कार्यक्रममा समानुपातिक उम्मेदवार छिरिङडोल्मा शेर्पासमेत रहेकी थिइन् । घरदैलोमा ठूलो सङ्ख्यामा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले साथ दिएका थिए ।