समानुपातिकमा महिलाको लहर: १७ सय ७२ महिला उम्मेदवार चुनावी मैदानमा
पुरुषभन्दा ४०९ जना बढी उम्मेदवार
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
680
Shares
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले बुझाएको अन्तिम बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार यस पटक महिला उम्मेदवारहरूको सङ्ख्या एक हजार सात सय ७२ रहेको छ भने पुरुष उम्मेदवारहरू एक हजार तीन सय ६३ जना मात्र छन्। ६३ वटा राजनीतिक दलहरू सहभागी भएको यस प्रणालीमा आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ।
अन्तिम नामावली अनुसार देशभरबाट कूल तीन हजार एक सय ३५ उम्मेदवारहरू समानुपातिकतर्फ चुनावी मैदानमा छन्। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र नियमावलीको प्रावधानअनुसार यो अन्तिम सूची प्रकाशन गरेको हो।
समावेशी सिद्धान्त र संवैधानिक व्यवस्थाका कारण पनि यस पटक दलहरूले महिला उम्मेदवारहरूलाई बन्दसूचीमा प्राथमिकता दिएको पाइएको छ। यसले आगामी संसद्मा महिलाको प्रतिनिधित्व अझ बलियो हुने सङ्केत गरेको छ।
यसैबीच, आयोगले विभिन्न कानुनी र प्राविधिक कारणले गर्दा ७६ जना उम्मेदवारको नाम भने बन्दसूचीबाट हटाएको छ। नाम हटाइएकाहरूमध्ये २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिहरू छन् भने २५ जना प्रदेशसभातर्फको बन्दसूचीमा समेत नाम भएका कारण अयोग्य ठहरिएका हुन्। यसका साथै, तोकिएको जरिवाना नतिर्ने १० जना र सम्बन्धित दलले नै नाम हटाउन सिफारिस गरेका १० जनाको नामावली पनि आयोगले रद्द गरिदिएको छ। निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन आयोगले उम्मेदवारको योग्यता र कानुनी पक्षमा निकै कडाइ गरेको देखिएको छ।