arrow

निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
mugu-abhyash.jpg

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित बनाउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ। नेपाली सेनाको श्री हनुमानध्वज गुल्मको आयोजनामा सदरमुकाम गमगढीमा गरिएको यो अभ्यासमा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने र एकीकृत सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

निर्वाचन अवधिमा हुन सक्ने कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नागरिकलाई सुरक्षित तवरले मतदान गर्ने वातावरण मिलाउन सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा आफ्नो कला र तयारी प्रस्तुत गरेका छन्।

यो विशेष प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै जिल्ला निर्वाचन कार्यालयले समन्वय गरेका थिए। निर्वाचनका क्रममा हुन सक्ने अवरोध र निर्वाचनविरोधी क्रियाकलापलाई कसरी निस्तेज पार्ने भन्नेबारे सुरक्षाकर्मीहरूले एकीकृत रूपमा अभ्यास गरेका हुन्।

श्री हनुमानध्वज गुल्मका सेनानी खड्गबहादुर श्रेष्ठका अनुसार मतदान केन्द्रको सुरक्षामा तीनवटै सुरक्षा निकायको संयुक्त भूमिका कस्तो रहन्छ भन्ने कुरालाई नमुना अभ्यासमार्फत स्पष्ट पारिएको छ। यो तालिमले निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाएको विश्वास गरिएको छ।

कार्यक्रमको अन्तिम दिन प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले निर्वाचनलाई सफल बनाउन सुरक्षाकर्मीको मात्र नभई राजनीतिक दलहरूको पनि उत्तिकै जिम्मेवारी रहने कुरामा जोड दिए। उनले विभिन्न स्वरूपका चुनौती आउन सक्ने भएकाले सुरक्षाकर्मी सधैँ चनाखो रहनुपर्ने बताए।

यस्ता अभ्यासले मतदान केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र सम्भावित जोखिमलाई न्यून गर्न मद्दत पुग्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ