उच्च पहाडमा हिमपातको सङ्केत, उपत्यकामा प्रदूषणको सकस
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
639
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेका कारण तराईका भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले साधारणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने भए पनि बाँकी पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान महाशाखाले गरेको छ।
आज राति पनि तराईका केही स्थानमा तुँवालो कायमै रहने देखिएको छ। देशको उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागे पनि बाँकी भूभागको मौसम भने सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी भूभागमा रातिको समयमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। तराई र उपत्यकाहरूमा तत्काल ठुलो वर्षा हुने सम्भावना नरहेकाले वायु प्रदूषणको स्तर नघट्ने देखिएको छ।
तराईका क्षेत्रमा मध्याह्नसम्म लाग्ने कुहिरो र देशभर बढ्दो वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ।
प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण र सम्बन्धित निकायहरूले आवश्यक सावधानी अपनाउनुपर्नेमा मौसमविद्हरूले जोड दिएका छन्। विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरूलाई प्रदूषणबाट बच्न र चिसोबाट जोगिन सुझाव दिइएको छ।