arrow

निर्वाचन तयारी तीव्र: ४४ जिल्लाका लागि एक करोड २२ लाख मतपत्र छापिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्यअन्तर्गत सोमबारसम्म कुल एक करोड २२ लाख ५६ हजार थान मतपत्र छापिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। 

उनका अनुसार डोल्पा, मुगु, जुम्ला, हुम्ला, सुर्खेत, कैलाली, कञ्चनपुर र झापा लगायतका ४४ जिल्लाको मतपत्र छपाइ सकिएर प्याकिङको काम समेत भइसकेको छ। हालसम्म १० हजार ७ सय ५९ बाकस मतपत्र ढुवानीका लागि तयार पारिएको छ।

निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीका मतपत्रहरू गत पुस २२ गतेदेखि नै छाप्न सुरु गरिएको हो। आयोगले पहिलो चरणमा करिब ११ लाख नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको छ। त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ माघ १३ गते नै सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा माघ १६ गतेदेखि छपाइलाई थप तीव्रता दिइएको छ।

आयोगले मतपत्र छपाइको कामसँगै सुरक्षा र ढुवानी व्यवस्थापनलाई पनि कडाइका साथ अघि बढाएको छ। जनक शिक्षा सामग्री केन्द्रमा सुरक्षाकर्मीको कडा निगरानीमा छपाइ कार्य भइरहेको छ। छपाइ सकिएका जिल्लाहरूमा मतपत्र सुरक्षित रूपमा पुर्‍याउन आयोगले विशेष कार्ययोजना बनाएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले आफ्नो सबै संयन्त्र परिचालन गरेर तोकिएकै समयमा सबै सामग्री जिल्ला-जिल्लामा पुर्‍याउने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ