arrow

प्रजिअको नेतृत्वमा अतिसंवेदनशील मतदानस्थलको अनुगमन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
election-2082.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले पश्चिम दाङका अतिसंवेदनशील मतदानस्थलहरूको स्थलगत अनुगमन गरेको छ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको नेतृत्वमा सोमबार गएको टोलीले दुई अतिसंवेदनशीलसहित चार वटा मतदानस्थलको निरीक्षण गरेको हो। टोलीले तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाका विभिन्न विद्यालयमा रहेका मतदान केन्द्रहरूको अवस्थाबारे जानकारी लिएको छ।

अनुगमनका क्रममा सुरक्षा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सम्भावित सुरक्षा जोखिम, यातायात, सञ्चार र खानेपानीको उपलब्धता जस्ता विषयमा सुक्ष्म अध्ययन गरेको छ। यसअघि पनि सुरक्षा समितिले बबई गाउँपालिकाका अतिसंवेदनशील सूचीमा रहेका विद्यालयहरूको अनुगमन गरिसकेको थियो।

अनुगमन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो। उनीहरूले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ मा कुल ५६ मतदानस्थल र १६९ वटा मतदान केन्द्रहरू रहेका छन्। तीमध्ये पाँच वटा मतदानस्थललाई सुरक्षाको दृष्टिले अतिसंवेदनशील सूचीमा राखिएको छ। सुरक्षा निकायले निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न र मतदातालाई ढुक्कसँग मतदान गर्ने वातावरण मिलाउन विशेष सुरक्षा योजना लागू गर्ने बताएको छ। अबका दिनमा अन्य मतदानस्थलहरूको पनि क्रमिक रूपमा अनुगमन गरिने सुरक्षा समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ