कञ्चनपुर–१ मा पुराना हस्तीलाई नयाँ युवा उम्मेदवारको चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
688
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुरमा चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ। लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ र युवा उम्मेदवारले कडा चुनौती दिने देखिएको छ। अहिले उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। पुराना उम्मेदवारले आफ्नो अघिल्लो कार्यकालका उपलब्धिलाई भोट माग्ने आधार बनाइरहँदा नयाँ उम्मेदवारहरूले भने परिवर्तन र सुशासनलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।
यस क्षेत्रमा नेकपा (एमाले) बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेकपाबाट अर्की पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा उत्रिएका छन्। अर्कातर्फ नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई पहिलो पटक चुनावी प्रतिस्पर्धामा उतारेको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनक धामी उम्मेदवार बनेका छन्। उपाध्याय र धामी दुवैका लागि यो पहिलो संसदीय निर्वाचन अनुभव हो। कञ्चनपुर–१ को चुनावी इतिहास हेर्दा यहाँ कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई–दुई पटक जित हासिल गरेका छन्, जसले गर्दा यसपटक पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ।
नेपाली कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले भदौको 'जेनजी' आन्दोलनपछि युवा नेतृत्वको माग बढेकाले पार्टीले युवालाई मौका दिएको बताए। उनले यसपटक कांग्रेसले आफ्नो पुरानो विरासत फर्काउने दाबी गरे। यता, २०७९ मा निर्वाचित एमाले उम्मेदवार तामाङले आफूले मन्त्री र सांसद हुँदा गरेका विकासका काम नै आफ्नो जितको आधार भएको बताएकी छन्। पूर्वमन्त्री मगरले पनि आफू यस क्षेत्रको विकासमा निरन्तर लागिपरेको भन्दै अधुरा काम पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताइन्। रास्वपाका धामीले पनि जनताको सेवक भएर काम गर्ने भन्दै अब मत परिवर्तन गर्ने बेला आएको धारणा राखेका छन्।
पुनर्वास, बेलौरी, बेलाडाँडी र लालझाडी समेटिएको यस निर्वाचन क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेका छन्। विकास र सुशासनलाई सबैले साझा एजेन्डा बनाए पनि मतदाताले पुराना अनुहारलाई दोहोर्याउँछन् वा नयाँ युवालाई रोज्छन् भन्ने कुरा रोचक बनेको छ। निर्वाचनको मिति नजिकिएसँगै गाउँ–बस्तीमा राजनीतिक दलका झण्डा र उम्मेदवारका प्रतिबद्धता पत्रले चुनावी माहोल थप तातेको छ।