महाशिवरात्रिभर बाग्मतीमा पाँच करोड लिटर पानी छाड्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
826
Shares
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीको सौन्दर्य बढाउन र भक्तजनलाई स्नानका लागि सहज बनाउन धापड्यामबाट पानी छाड्न सुरु गरिएको छ। अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले पशुपतिनाथ मन्दिरमा आउने ठूलो सङ्ख्याका दर्शनार्थीलाई ध्यानमा राखेर यो कदम चालेको हो।
आयोजनाका उपनिर्देशक उद्धव नेपालले धापड्यामबाट छाडिएको पानी पशुपति क्षेत्रसम्म पुग्न करिब १४ घण्टा लाग्ने भएकाले आज दिउँसोदेखि नै क्रमिक रूपमा पानी छोड्न थालिएको जानकारी दिएका छन्। पर्व अवधिभर नदीमा निरन्तर पानी बग्ने गरी समन्वय गरिएको र प्रतिसेकेन्ड ४०० लिटरका दरले तीन दिनसम्म पानी छाडिने उनले बताएका छन्। यसरी पानी छाड्दा नदीमा पानीको सतह घुँडासम्म आउने र व्रतालुलाई स्नान गर्न सजिलो हुने अपेक्षा गरिएको छ।
नदीमा पानीको बहाव थप बढाउनका लागि आयोजनाले मेलम्ची खानेपानी विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग पनि समन्वय गरेको छ। सुन्दरीजल पानी प्रशोधन शाखामार्फत नदीमा पानी प्रवाह गर्न पत्राचार गरिएको छ। आयोजना प्रमुख शम्भुराज पण्डितका अनुसार आज बेलुकी ६:०० बजेदेखि आइतबार बेलुकी ६:०० बजेसम्म निरन्तर पानी प्रवाह गर्न आग्रह गरिएको छ।
केयुकेएल सुन्दरीजल आयोजनाका प्रमुख हेम बूढाथोकीले मेलम्चीको पानी समेत गरी करिब पाँच करोड लिटर पानी बाग्मतीमा छाड्ने तयारी भइरहेको बताएका छन्। उनले बाग्मतीमा पानी पठाउँदा उपत्यकाका उपभोक्तालाई वितरण गरिने १७ करोड लिटर पानीमा कुनै कटौती नहुने र उपभोक्तालाई कुनै असर नपर्ने कुरामा पनि आश्वस्त पारेका छन्।
शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धापड्याम बाग्मती नदीको सौन्दर्य कायम राख्न महत्वपूर्ण सावित भएको छ। झण्डै ८९ करोड रुपैयाँको लागतमा निर्माण भएको यो जलाशययुक्त ड्याममा वर्षाको पानी जम्मा गरेर हिउँदमा छाड्ने गरिन्छ। यद्यपि, ड्यामको क्षमता सीमित भएकाले हिउँदभर दैनिक रूपमा पानी छाड्न भने चुनौती देखिएको छ।
उपनिर्देशक नेपालका अनुसार नदीमा बहाव देखिनका लागि प्रतिसेकेन्ड ४०० लिटर पानी आवश्यक पर्ने तर त्यति धेरै पानी दैनिक छाड्दा ड्याम रित्तिने भएकाले हाललाई मुख्य पर्व र विशेष अवसरहरूमा मात्र पानी छाड्ने गरिएको छ। महाशिवरात्रिका लागि भने विशेष व्यवस्था गरी भक्तजनलाई स्वच्छ पानीमा स्नान गर्ने वातावरण मिलाइएको छ।