स्वच्छ र भयरहित मतदानका लागि सबैको सहयोग चाहिन्छ: कार्यवाहक प्रमुख आयुक्त भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
777
Shares
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकको निकासका लागि निर्विकल्प रहेको बताउँदै यसलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रलाई आह्वान गरेका छन्।
राष्ट्रिय समाचार समितिको ६५औँ वार्षिकोत्सवका अवसरमा ‘रासस पोडकास्ट’ को शुभारम्भ गर्दै उनले मुलुकको बिग्रिएको अनुशासनलाई लयमा ल्याउन र सुशासन कायम गर्न यो निर्वाचन अनिवार्य रहेको उल्लेख गरे। निर्वाचनमार्फत निष्ठावान जनप्रतिनिधि चयन हुनेमा विश्वास व्यक्त गर्दै उनले मतदातालाई आफ्नो सार्वभौम अधिकारको सही प्रयोग गरी मत बदर नहुने गरी मतदान गर्न आग्रह गरेका छन्।
सञ्चार जगत्ले निर्वाचनको वातावरण बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै भण्डारीले क्रान्ति र विद्रोहपछिको यो अवस्थालाई सङ्ल्याएर निर्वाचन गराउनु सबैको साझा दायित्व भएको बताए। उनले सरकारबाट आयोगलाई आवश्यक स्रोतसाधन प्राप्त भएको र सोही परिधिमा रहेर निर्वाचन प्रक्रिया अघि बढाइएको प्रष्ट पारे।
निर्वाचनका बेला दलहरूबीच हुन सक्ने निषेधको राजनीति र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै उनले आचारसंहिताले यस्ता कार्यलाई पूर्णतः निषेध गरेको जानकारी दिए। साथै, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचनाप्रति सतर्क रहन र सत्यतथ्य परीक्षण गरेर मात्र समाचार सम्प्रेषण गर्न उनले सुझाव दिएका छन्।
मतदाता शिक्षाको महत्वबारे चर्चा गर्दै भण्डारीले घरदैलोमै पुगेर यस्तो शिक्षा दिने काम भइरहेको बताए। उनले आगामी फागुन ४ देखि १८ गतेसम्म हुने निर्वाचन प्रचारप्रसार र त्यसपछिको मौन अवधिलाई कडाइका साथ पालना गराउन आयोग सक्षम रहेको दाबी गरे।
आचारसंहिता उल्लङ्घन गर्ने जोकोही ठूलो सजायको भागिदार हुने चेतावनी दिँदै उनले यस पटक मौन अवधिमा हुने अनियमितता रोक्न प्रविधिको विशेष प्रयोग गरिएको जानकारी दिए। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अरूलाई समर्थन गर्ने वा नाम फिर्ता लिने प्रवृत्तिलाई मतदाताको विश्वासमाथिको कुठाराघात भन्दै उनले यस्तो अनैतिक कार्य गर्ने व्यक्ति भविष्यमा कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने बताए।