arrow

मतपत्र छपाइ अन्तिम चरणमा: ६३ जिल्लाको काम सकियो

अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अब अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि एक करोड ७१ लाख ६३ हजार मतपत्र छापिसकिएको छ। 

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको यो छपाइ कार्य अब काठमाडौँ उपत्यका आसपासका केही जिल्लाहरूमा मात्र बाँकी छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले अबका तीन दिनभित्र सबै जिल्लाको छपाइ सकिने अनुमान गरिएको जानकारी दिएका छन्।

छपाइ सकिएका जिल्लाहरूमा विशेष गरी हिमाली र पहाडी भेगका डोल्पा, मुगु, हुम्ला, दार्चुला, ताप्लेजुङदेखि तराईका कैलाली र झापासम्मका ६३ जिल्ला समेटिएका छन्। अहिलेसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने दैनिक ११ देखि १५ लाखको सङ्ख्यामा नयाँ मतपत्रहरू छापिइरहेका छन्। आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ। गत पुस २२ गतेदेखि सुरु भएको यो प्रक्रियामा पहिलो चरणको नमुना मतपत्र छपाइ सकिएर जिल्ला-जिल्लामा पठाइसकिएको छ।

यसैबीच, आयोगले छपाइ सम्पन्न भएका मतपत्रहरू दुर्गम क्षेत्रमा पठाउन पनि सुरु गरिसकेको छ। आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका लागि मतपत्र ढुवानी सुरु गरिएको सहायक प्रवक्ता न्यौपानेले बताएका छन्। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला लगायतका जिल्लाहरूमा निर्वाचन सामग्री पुर्‍याउने कार्यलाई प्राथमिकता दिइएको छ। काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको छपाइ सकिएलगत्तै ती क्षेत्रमा पनि ढुवानी प्रक्रिया अघि बढाइनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ