दोलखामा जसपा केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवारसहितका नेताहरू कांग्रेसमा, अजयबाबुलाई बल
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
1.3k
Shares
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखामा चुनावी माहोल तात्तिएको छ भने नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहरसमेत बढेको छ ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी उम्मेदवार रहेको चुनावी प्रतिस्पर्धालाई बल पुर्याउँदै जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य एवं आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार नानु थामीको नेतृत्वमा एक टोली कांग्रेसमा प्रवेश गरेको छ।
आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। नानु थामीको प्रवेशसँगै दोलखामा कांग्रेसको सङ्गठन अझ बलियो भएको विश्लेषण गरिएको छ।
नानु थामीसँगै जसपाका जिल्ला सचिव एवं महिला सङ्घ दोलखाकी सुशिला थामी (कालिञ्चोक–९), जसपा दोलखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष गणेश थामी (भिमेश्वर–१) र तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की (कालिञ्चोक–४) पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेशपछि उनीहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विशेषगरी दोलखाको थामी समुदायको ठुलो हिस्सा अब कांग्रेसको पक्षमा उभिने देखिएको छ। नानु थामीले आफूसँग अहिले पनि सात सयभन्दा बढी व्यक्तिगत मत रहेको दाबी गर्दै शिवाकोटी जस्तो भ्रष्टाचार विरोधी र बौद्धिक व्यक्तित्वलाई विजयी गराउन सबैमा अपीलसमेत गरेकी छन् ।
यसैबीच जसपा दोलखाका जिल्ला कार्यसमिति सदस्य केशव थामी (कालिञ्चोक–८) र शम्भु थामी पनि कांग्रेस प्रवेशको तयारीमा रहेको बताइएको छ। यसरी चुनावी अभियानकै क्रममा अन्य पार्टीका प्रभावशाली नेताहरू कांग्रेसमा समाहित हुन थालेपछि दोलखामा चुनावी प्रतिष्पर्धा थप रोचक हुने देखिएको छ ।