बाहुनडाँगीका मतदाताको साझा एजेन्डा: "जसले हात्तीको त्रास हटाउँछ, उसैलाई भोट"
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
705
Shares
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर १ का उम्मेदवारहरू आश्वासनका पोका बोकेर घरदैलोमा पुग्न थालेका छन्। तर, मेचीनगर-१ तिरिङकी सविता पुरीलाई भने चुनावी रौनकले भन्दा खेतमा पाकेको तोरीबाली भित्र्याउने चटारोले छोपेको छ। अन्य अन्नबाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रूपमा उनले अचेल तोरी खेती रोजेकी हुन्। हात्तीले तोरी नखाने भएकाले अहिले बाहुनडाँगीका पाखोबारीमा अन्नभन्दा बढी तोरी झुल्न थालेको उनी बताउँछिन्।
भारतसँग सीमा जोडिएको मेचीनगरको वडा नम्बर १ देखि ४ सम्म फैलिएको साविक बाहुनडाँगीका स्थानीयको चार दशकदेखिको साझा पीडा एउटै छ— जङ्गली हात्तीबाट जिउज्यान र बालीनाली कसरी जोगाउने? अन्न, फलफूल र तरकारी जोगाउन नसकेर सास्ती पाएका यहाँका बासिन्दाका लागि तोरी खेती हात्तीबाट जोगिने एउटा वैकल्पिक उपाय बनेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यस क्षेत्रका २२ हजारभन्दा बढी मतदाताले यसपालि स्पष्ट अडान लिएका छन्। "अहिलेसम्म एक जना उम्मेदवार मात्र आउनुभएको छ," तोरीको थुप्रो पन्छाउँदै पुरीले भनिन्, "हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने ठोस योजना र विश्वास दिन्छ, यसपालिको भोट उसैलाई जानेछ।"
पटक-पटकका निर्वाचनमा उम्मेदवार र सरकार फेरिए पनि बाहुनडाँगीको नियति नफेरिएकोमा स्थानीयको ठुलो गुनासो छ। मेची नदी तरेर आउने हात्ती रोक्न सरकारले करोडौँ खर्चेर लगाएको विद्युतीय तारबार अहिले हात्तीका लागि 'खेलौना' जस्तै बनेका छन्। हात्तीले तारबार भत्काएर गाउँ पस्ने क्रम अझै रोकिएको छैन।
युवा मतदाता प्रवेश पुरीले देशमा धेरै परिवर्तन आए पनि आफ्नो गाउँको हात्ती समस्या उस्तै रहेको गुनासो गरे। उनले यसपटक घरदैलोमा आउने हरेक उम्मेदवारलाई हात्ती नियन्त्रणको 'दीर्घकालीन योजना' बारे प्रश्न सोध्ने गरेको बताए।
झापा-१ मा अहिले राजनीतिक दलका १३ र स्वतन्त्र २ गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ कुल १ लाख ३१ हजार ६७ मतदाता रहेका छन्। मेचीनगर, बुद्धशान्ति र भद्रपुरका केही वडाहरू समेटिएको यो क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन्। यहाँका मतदाताहरू नेताले बाँड्ने पुरानै आश्वासनभन्दा पनि कार्यान्वयनयोग्य समाधानको पर्खाइमा छन्।