मुगु। यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मुगु जिल्लामा प्रमुख तीन दलका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुँदैछ।
नेपाली कांग्रेसबाट खडगबहादुर शाही, एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीबीचको प्रतिस्पर्धाले मुगुको निर्वाचन रोचक बनाएको छ।
मुगुका चार ओटा स्थानीय तहमध्ये खत्याड गाउँपालिकाबाट कांग्रेसका शाही, रास्वपाका भुवन टमाटा र नेपाली कम्युनिष्ट पार्टीका रंगबीर परियार तथा सोरु गाउँपालिकाबाट नेकपाबाट चन्द्रबहादुर शाही र राप्रपाका बलबहादुर मल्ल उम्मेद्वार छन् ।
यस्तै जिल्लाको एकमात्र छायानाथ रारा नगरपालिकाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल र मुगुम कार्मारोङ गाउँपालिकाबाट एमालेका रोकाया उम्मेद्वार छन् ।
एक निर्वाचन क्षेत्र रहेको मुगुमा साना चार दलको उम्मेद्वारी भए पनि मुख्यत: कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच कडा र रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७४ सालको प्रदेश निर्वाचनमा पराजित कांग्रेसका शाही पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
एमाले जिल्ला कमिटीका अध्यक्षसमेत रहेका रोकायाको पनि प्रथम चुनावी मैदान हो । रोकाया निवर्तमान जिल्ला समन्वय समिति प्रमुख पनि हुन् ।
नेकपाका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा विजयी भएका थिए भने २०७४ सालको प्रदेश सभा निर्वाचन क्षेत्र खबाट विजयी भएका थिए । उनी कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रीसमेत बनेका थिए।
२०७९ को समानुपातिक मत परिणाम अनुसार मुगुमा पहिलो एमाले, दोस्रो कांग्रेस, तेस्रो माओवादी केन्द्र र चौथो एकीकृत समाजवादी पार्टी भएका थिए।
मत परिणाम अनुसार एमालेले आठ हजार ६४३, नेपाली कांग्रेसले आठ हजार ४४०, माओवादीले चार हजार ६५० र एकीकृत समाजवादीले दुई हजार ६१२ मत प्राप्त गरेका थिए ।
यस पटक माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता भएर नेकपा बनेपछि कांग्रेस र एमालेलाई टाउको दुखाइ भएको छ । साथै यसले कांग्रेस र एमालेबीच सधैँ भइरहने प्रतिस्पर्धामा नेकपा थपिएको छ ।
कांग्रेस र एमालेका उम्मेद्वारले आफूहरूले जित्ने दावी गरिरहेका छन् । तर मुगुका एमाले संस्थापक तथा संगठन निर्माणकर्ता नेकपाका उम्मेद्वार चन्द्रबहादुर शाहीले एमालेकै भोट काट्ने अनुमानसहित आफ्नो जित सुनिश्चित रहेको कांग्रेसले दाबी गरिरहेको छ।
यता एमालेले रास्वपा, नेकपा माओवादी र कांग्रेस उम्मेद्वार एउटै पालिकाका भएकाले कांग्रेसको मत घटने र आफ्नो जित हुने दावी गरेको छ ।
यस्तै नेकपा पनि एमाले र कांग्रेसको प्रतिस्पर्धाको बीचबाट आफ्नो जित निकाल्न लागिपरेको देखिन्छ । नवगठित दलमा तत्कालीन माओवादी केन्द्र र समाजवादीका मतदाता एकीकृत भएकाले त्यसमा पूराना एमाले कार्यकर्ता आफूतिर तान्न सकेमा आफ्नो जित सुनिश्चित हुने नेकपाको बुझाइ छ ।
नेकपाका उम्मेद्वार शाही राजनीतिका पुराना र पाका खेलाडी भएकाले उनैले जित्ने जनमानसमा चर्चा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार भुवन टमाटा अन्य पार्टीका उम्मेद्वारभन्दा नयाँ अनुहार र जेन्जी उमेर समूहका युवा अभियान्ता हुन्। उनी गाउँगाउँमा पुग्दा युवाहरू उक्त पार्टीमा आकर्षित भएकाका छन् ।
रास्वपामात्र होइन जनताका जनजीविका र पुरानो सत्ताका कमिकमजोरी बारे उठान गर्दै गाउँगाउँमा चुनावी प्रचारमा रहेको नेकपा माओवादीका उम्मेद्वार रङ्गविर परियारप्रति पनि जनताको आकर्षण बढदै गएको देखिन्छ ।
परियार कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्र र समाजवादीका मतदाताका मत लिने भएकाले जितको परिणाममा नेकपाले पनि ठूलै धक्का दिने चर्चा गर्छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगु जिल्लामा ३६ हजार ३१ जना मतदाता छन् । चार ओटा स्थानीय तह रहेको मुगुमा ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन् ।
हिउँद सिजन, युवा कामका लागि भारत तथा तेस्रो मुलुक पलायन, निर्वाचनप्रति मतदाता उत्साहित नभएको जस्ता कारणले यो निर्वाचनमा विगतमा भन्दा कम मत खस्ने आकलन गरिएको छ ।
२०७९ मा ७४ प्रतिशत मत खसे पनि यो निर्वाचनमा त्यो भन्दा कम मत खस्ने देखिन्छ । जसले चुनावी परिणाममा प्रभाव पार्नेछ । २०७९ को प्रत्यक्षतर्फको निर्वाचनमा नेकपा माओवादी, एकीकत समाजवादी र नेपाली काङ्ग्रेसले गठबन्धन गर्दा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका ऎनबहादुर शाही १४ हजार ७०६ मतका साथ विजयी भएका थिए।
नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७१० पाएका थिए । यी दुई उम्मेद्वारबीच तीन हजार ९९६ मतको अन्तर थियो ।
यस पटक चुनावमा दलहरूका आआफ्नै उम्मेद्वार भएको र कुनै पनि दल बीच गठबन्धन नभएकाले काङ्ग्रेसले पाएको विजयी मतमा माओवादी केन्द्र र एकीकृत समाजवादीको घटने छ। यो हिसाबले पनि एमाले, काङ्ग्रेस र नेकपाका उम्मेद्वारबीच रोचक, कडा र अनुमानविहीन प्रतिस्पर्धा हुने पक्का छ ।