बैतडीमा चार सय सात जनाले बुझाए हातहतियार, समयभित्र नबुझाउनेलाई कारबाहीको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
665
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै बैतडीका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन्।
्स्थानीय प्रशासनले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अनुमतिप्राप्त हतियार बुझाउन आह्वान गरेपछि उनीहरूले आफ्ना हतियार बुझाएका हुन्। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा कुल एक हजार ८६ थान हातहतियार अनुमतिप्राप्त रहे पनि हालसम्म ४०७ थान मात्रै सङ्कलन भएका छन्।
थापाले अझै हतियार बुझाउन बाँकी रहेका व्यक्तिहरूलाई तत्काल प्रहरी प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन्। निर्धारित समयभित्र हतियार नबुझाउनेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी समेत उनले दिएका छन्।
प्रशासनले सङ्कलन गरेका यी सबै हातहतियार र गोलीगठ्ठा निर्वाचन सकिएपछि अर्थात् चैत २० गतेपछि मात्रै सम्बन्धित धनीलाई फिर्ता गरिने योजना बनाएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि र सुरक्षा जोखिम कम गर्न प्रशासनले यो कदम चालेको हो।